टिम्बुरे हत्याकाण्डको २६ वर्षपछि उस्तै प्रकृतिको हत्याकाण्ड

  • साझा डबली
  • बुधबार, जेष्ठ ८, २०७६
  • साझा डबली , जेष्ठ ८। पांचथरमा २६ वर्षपछि टिम्बुरे हत्याकाण्ड जस्तै प्रकृतिको हत्याकाण्ड भएको हो। २६ बर्ष पहिले साविक फिदिम १३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गरी हत्याकाण्ड भएको थियो ।

    टिम्बुरे हत्याकाण्ड 

    विसं २०५० मा भएको घटना ‘टिम्बुरे हत्याकाण्ड’को रुपमा चर्चित छ। उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान गएको थियो। त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो। टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल,  सरसस्वती रिजाल, कृष्ण दुलाल,  उमेश र उद्वव दुलाल पाँच जनाको ज्यान गएको थियो।

    लुङरुपा ९ का कुवेर दुलाललाई नाँगीन गाविस वडा नं ३ सेजेपामा र उनकी श्रीमती सरस्वतीसँगै छोराछोरी कृष्ण, उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुरी प्रहार गरी हत्या गरिएको थियो। उक्त घटनामा छोरी ज्ञानु र मनु बाँचेका थिए।  परिवारभित्रै आपसी लेनदेन र राजनीतिक विषयमा विवाद भएपछि उनीहरुको हत्या भएकाले सो हत्याकाण्ड टिम्बुरे हत्याकाण्ड भनेर चर्चित छ।

    आरुबोटे हत्याकाण्ड

    गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको थियो।

    ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो। १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्।

    ‘आरुबोटे हत्याकाण्ड’मा हत्या भएका मृतकको शव परीक्षणका लागि विपी कोइराला प्रतिष्ठान लगिएको छ ।हत्या भएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ। हत्या माखिमले नै गरेको हुनसक्ने प्रहरीको आशङ्का छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology