विदेशमा रहेका नेपालीलाई तत्काल फिर्ता ल्याउन सर्वोच्चको अन्तरिम आदेश

  • साझा डबली
  • बिहिबार, बैशाख ४, २०७७
  • काठमाडौं, बैशाख ४। सर्वोच्च अदालतले कोरोना भाइरसको महामारी फैलिएका देशबाट आफ्ना नागरिकलाई तत्काल फिर्ता ल्याउने आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले यस्तो आदेश जारी गरेको हो।

    कोरोना भाइरसको महामारी फैलिएसँगै विदेशी मुलुकहरुले पनि आफ्ना नागरिकहरु फर्काइरहेको र विदेशमा श्रम गरिरहेका नेपालीहरुलाई फर्काउन दबाबसमेत आएको सन्दर्भमा उचित व्यवस्थापन गरी फिर्ता ल्याउन सर्वोच्चले भनेको हो। वैदेशिक रोजगारीमा रहेका र उक्त देशमा महामारी फैलिएकाले त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे प्रतिवेदन तयार गर्न पनि सर्वोच्चले भनेको छ।

    विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम विना भेदभाव उपचारलगायतका सेवा प्राप्त गर्ने व्यवस्था मिलाउन परराष्ट्रमार्फत् कूटनीतिक पहल गर्न पनि सर्वोच्चकाे आदेशमा भनिएकाे छ।

    यसअघि पनि सर्वोच्चले विदेशमा रहेका नेपालीहरुको बारेमा सरकारको नाममा आदेश जारी गरेको थियो। यसअघि सुरक्षित गर्ने र उनीहरुको उचित व्यवस्थापनको विषयमा सोधेको सर्वोच्चले यस पटक उद्धार गर्न भनेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology