विदेशमा कोरोनाबाट १४ नेपालीको मृत्यु, दुई सय जना सङ्क्रमित

  • साझा डबली
  • शुक्रबार, बैशाख ५, २०७७
  • काठमाडौँ, बैशाख ५। कोरोना भइरसबाट हालसम्म विदेशमा १४ जना नेपालीको मृत्यु भएको छ । त्यस्तै विभिन्न मुलुकमा झन्डै दुई सय जना नेपाली नागरिक कोरोना भाइरसबाट सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बेलायतमा आठ जना नेपाली नागरिकको मृत्यु भएको छ । तीमध्ये सात जनाको कोरोनाबाट पुष्टि भएको छ भने एक जनाको पुष्टि हुन बाँकी छ । त्यहाँ ३५ जना सङ्क्रमित छन् । अन्य ३० जना क्वारेन्टाइनमा छन् भने १० जना क्वारेन्टाइनबाट फर्किएका छन् ।

    यसैगरी अमेरिकामा एक नेपाली मूलका नागरिकसहित छ नेपालीको मृत्यु भएको छ । तीनको मृत्यु कोरोना भाइरसका कारण पुष्टि भइसकेको छ भने बाँकी तीन जनाको पुष्टि हुन बाँकी रहेको जनाइएको छ । त्यहाँ कुल ६० जना नेपाली सङ्क्रमित छन् । सबैभन्दा बढी न्युयोर्कमा ४५ जना नेपाली सङ्क्रमित छन् । त्यहाँ यो सङ्ख्याभन्दा धेरै नेपाली सङ्क्रमित रहेको अनुमान छ ।

    मन्त्रालयका अनुसार, विभिन्न सहरको आफ्नै स्थानीय कानुन अनुसार सङ्क्रमितको विवरण गोप्य राखिएकाले पूर्ण जानकारी आउन अझै बाँकी छ । अमेरिकास्थित नेपाली दूतावासका अनुसार नेपाली नागरिकको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    बेलायत र अमेरिकापछि सबैभन्दा बढी नेपाली सङ्क्रमित रहेको देश बहराइन हो । नेपालको श्रम गन्तव्यमध्ये एक बहराइनमा २२ जना नेपाली नागरिक सङ्क्रमित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सबैको उपचार भइरहेको छ । पोर्चुगलमा १२ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्यहाँ थप २१ नेपाली क्वारेन्टाइनमा रहेका छन् ।-गोरखापत्र दैनिक

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology