कैलालीमा स्कूले उमेरमै मायाप्रेम बस्यो, जात नमिलेपछि आत्महत्याको बाटो !

  • साझा डबली
  • मङ्लबार, कार्तिक १८, २०७७
  • धनगढी  । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ११ का रवि कोली र सीता साउँदका परिवार छिमेकी हुन् । रवि र सरिता स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए । स्कुल जाँदा आउँदा होस्, घर छिमेकमा खेल्दा, नाच्दा होस् सँगै हुने उनीहरु गोठालो पनि सँगै जान्थे ।

    कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको लकडाउनपछि उनीहरु विद्यालय जान पाएनन् । गाउँ टोलमै बसेर अध्ययन गर्थे । दुवै जनाबीच प्रेम थियो भन्ने कल्पना समेत कसैले गरेका थिएनन् । उमेरले सीता रवि भन्दा २ वर्ष जेठी र कथित उपल्लो जातकी छोरी भएकाले पनि होला दिदी भाई जस्तै थिए उनीहरु ।

    गोदावरी नगरपालिका वडा नम्बर ११ का वडा सदस्य भीमबहादुर बिक भन्छन्, ‘उनी जेठी भएकाले पनि घरपरिवारले कुनै शंका नगरेका रहेछन् । दुवै जनाबीच माया प्रेम छ भन्ने कुरा थाहै नरहेछ ।’ जब गत असोज २८ गते दुवै जना एकाएक सम्पर्कविहिन भए त्यसपछि मात्र उनीहरुबीच प्रेम थियो की, भन्ने शंका जन्मायो । विवाह गर्न भागेर गएका होलान् भन्ने चर्चा चल्यो ।

    कथित उपल्लो जातकी युवतीलाई दलितको छोराले कसरी भगाउने हिम्मत गर्यो होला ? धेरैको मनमा यही कुरा खेलिरहेको थियो । सम्पर्कविहिन भएको समय घर्किदै जाँदा पनि उनीहरुको कुनै पत्तो नलागेपछि दुवै परिवारको मनमा चिसो पसिसकेको थियो ।

    चिन्तित थिए दुवैका परिवार । केटाकेटी हराएको विषयमा प्रहरीमा खबर पुग्यो । झण्डै १७ दिनपछि १५ कार्तिकमा गोदावरी नगरपालिकाको सीमानामा पर्ने कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ को मालुमेला जंगलमा सडेको अवस्थामा २ जनाको शव भेटियो । बाख्रा चराउन गएका स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरे । कञ्चनपुर प्रहरीको टोली घटनास्थल पुग्यो ।

    घटनास्थल कार्य सकेर शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइयो । २ शव भेटिएको स्थान नजिकै सलफास नामक बिषादीको बट्टा पनि प्रहरीले भेट्यो । खोजी गर्दै जाँदा ती २ शव रवि र सीताकै भएको पुष्टि भयो । अहिले दुवै परिवार शोकमा छन् ।

    ‘दुवै जनाबीच प्रेम थियो भन्ने हामी कसैलाई पनि जानकारी थिएन् । म काम विशेषले कर्णाली प्रदेशमा थिए त्यो बेला’ सीताका काका गणेश साउँद भन्छन्, ‘बाख्रा चराउन गएका बेला उतैबाट हामी मछौँ भन्दै सलफास बोकेर गएको कुरा उनीहरुसँगै गोठाला गएका बालबालिकाले भनेपछि मात्र थाहा भयो । खोजी गर्दा समेत भेटाउन सकेका थिएनौँ ।’

    साउँदको भनाइमा दुवै जनाबीच प्रेम सम्बन्ध छ भन्ने कुरा घरपरिवारलाई पूर्व जानकारी थिएन । ‘छोरा सज्जन थियो । यस्तो खालको घटना गर्ला भन्ने कल्पना पनि गरेको थिएन् । कसरी मृत्युको बाटो रोज्यो होला’ मृतक रविका बुवा टेकबहादुर कोली भन्छन्, ‘जेठो छोरापछिको हाम्रो सहारा ऊ नै थियो । तर के गर्नु नसोचेको भयो । ’

    २ जनाबीच प्रेम सम्बन्ध थियो भन्ने कुरा उनीहरुका सहपाटीलाई समेत थाहा नरहेको खुलेको छ । ‘पढाईमा मध्यम उनीहरु निकै अनुशासित विद्यार्थी थिए’, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक बिनोद भट्टराई भन्छन्, ‘विद्यालयमा गलत रेकर्ड केही पनि छैन् । उनीहरुसँगै पढ्ने विद्यार्थी भाईबहिनीहरुलाई पनि हामीले बुझ्यौँ, दुवै जनाबीच माया प्रेम चलिरहेको कुरा कसैलाई थाहा नरहेछ ।’

    दुवै छिमेकी पनि भएकाले लकडाउनका बेला प्रेममा परेको हुनसक्ने अनुमान उनीहरुका सहपाटीको छ । प्रहरीले भने उनीहरु मृत्युको घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology