रत्न मन्दिर र हिमागृह खुलाउन पहल गर्छुः मन्त्री आले

  • राज्यको अस्पष्ट नीतिले पर्यटन व्यवसायी निराश
  • नारायण क्षेत्री
  • शुक्रबार, मंसिर १७, २०७८
  • संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पोखराका हिमागृह र रत्नमन्दिर खुला गर्न आफूले सक्दो पहल गर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २१ औं बार्षिक साधारणसभालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै मन्त्री आलेले हिमागृह र रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरे पर्यटकहरुका लागि नयाँ गन्तव्य थपिने बताए ।

    उनले पञ्चासे, विन्ध्यवासिनी मन्दिर र फेवातालको फूट ट्रयाकका लागि उचित बजेटको व्यवस्था गर्नेपनि उल्लेख गरे । आफूले पर्यटन मन्त्रालय सम्हालेपछि नेपाल वायु सेवा निगममा समेत उल्लेख्य सुधार आएको उनले दाबी गरे ।

    गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले पर्यटनसंग जोडिएका कानुनहरु नबाँझिने गरी नीति बनाइदिन संघिय सरकारलाई आग्रह गरे । नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने गण्डकी प्रदेश सरकारको योजना रहेको उनले बताए । गण्डकी प्रदेश सभा सदस्य राजीव पहारीले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न माग गरे । उनले पोखराका पार्कहरु अव्यवस्थित भएकाले त्यसलाई व्यवस्थित गर्न सके पर्यटकहरुको बसाई लम्ब्याउन सकिने बताए ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रको विकासका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल समयमै सुचारु गरी पोखराबाट पहिलो अन्तर्राष्ट्रिय उडान गर्न माग गरे । कोरोनाका कारण धेरै व्यवसायी पलायन भएकाले बैंकको किस्तामा सहजता हुनुपर्ने बताए ।

    पर्यटन विकाशमा राज्यको स्पष्ट नीति नहुँदा पर्यटन व्यवसायी निराश भएको उनले बताए । हिमागृह र रत्नमन्दिर सर्वसाधारणका लागि खोल्न धेरै पहिले देखि नै व्यवसायीहरुले माग गरेपनि त्यसको कुनै सुनुवाइ नभएकाले उनले तत्काल खेल्न माग समेत गरे । अध्यक्ष भट्टराईले व्यवसायीहरुले सरकारलाई कर तिरेपछि निर्वाध रुपमा व्यवसाय गर्न पाउने वातावरणको श्रृजना हुनुपर्ने उल्लेख गर्दै सरकारसंग हातोमालो गरी आफूहरु अगाडी बढन तयार रहेको बताए ।

    पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पवन प्रजापतिले पर्यटन व्यवसाय नफस्टाए सम्म अन्य व्यवसायले गति लिन नसक्ने बताए । पोखरा उद्योग वाणिज्य संघ सधै पर्यटन व्यवसायीको साथमा रहेको बताउँदै उनले कोरोनाका समयमा स्थानीय सरकारबाट कुृनै राहत नपाएको गुनासो गरे । कार्यक्रममा नेपाल पत्रकर महासंघका अध्यक्ष विमला भण्डारीले पनि बोलेकी थिइन् ।

    कार्यक्रममा कोरोनाका समयमा स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै जर्जियाका लागि नेपालका सद्भावना दूत दीपक पहारी, सामुदायिक प्रतिष्ठान नेपालका अध्यक्ष भिष्मराज पौडेल र रेवान पोखराका पूर्व महासचिव श्रीराम गिरीलाई सम्मान गरिएको थियो ।सो अवसरमा परिषद्का महासचिव रामचन्द्र शर्माले प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology