डिजिटल प्रदूषणबाट जोगिन डिजिटल साक्षरताको आवश्यकता

  • साझा डबली
  • शनिबार, भदौ ३०, २०८०
  • कुनै पनि नयाँ चीज प्रयोग हुन थालेपछि त्यसबाट फाइदा र बेफाइदा दुवै हुन्छन् । हामीले त्यसबाट हुने बेफाइदालाई न्युनीकरण गर्नेतर्फ ध्यान दिइएन भने त्यसबाट पाउने फाइदा पनि गुम्न सक्छ । त्यसैले फाइदालाई फैलाउने र बेफाइदालाई बन्द गर्ने कार्यलाई सँगसँगै लैजानुपर्दछ । तर नेपालमा फाइदा लट्न खुबै ध्यान दिने गरिए पनि बेफाइदा न्युनीकरण गर्न मतलव नगर्ने प्रवृत्ति रहेको छ । यस्तै प्रवृत्ति पछिल्लो समयमा इन्टरनेट माध्यममा देखिएको छ । इन्टरनेट माध्यममा अहिले विकृति र बेफादाजनक गतिविधि तीव्र रूपमा फैलिएको छ । त्यसको सबैभन्दा ज्वलन्त उदाहरणको रूपमा रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमलामाथि डिजिटल माध्यममा निरन्तर भइरहेको हमलालाई नै लिन सकिन्छ । उहाँको विषयमा निरन्तर हुँदै नभएका डिजिटल सामग्री हजारौँ बनाइएका छन्, करोडौँबाट हेरिएका छन् । ती हेर्नेहरूले गलत सामग्रीलाई पनि पत्याएको र त्योअनुसार धारणा बनाएको पाइन्छ । उनीहरूलाई तीमध्ये कुन कुरा सत्य हो, कुन कुरा असत्य हो भन्ने ठम्याउन नसिकाइएकाले उनीहरूले पत्याएका हुन ।

    अर्कोतर्फ त्यस्ता गलत सामग्रीहरू बनाउनेलाई जिम्मेवार बनाउने वा कारबाही गर्ने परिपाटी पनि नभएकाले आम नागरिक भ्रमित भएका छन् भने धमलाजस्तै हजारौँ मानिस अनाहकमा पीडित भएका छन् । करोडौँ दर्शकका अरबौँ समय गलत सूचना ग्रहणमा खेर गएका छन् । इन्टरनेटमा यस्ता धेरै विकृति दिन-प्रतिदिन फैलिदै गएका छन् । तीमध्ये मुख्य-मुख्य विकृति निम्नानुसार छन् :

    . सोसल मिडियाका व्यक्तिगत आईडी ह्याक गरेर वा चोरी गरेर ठगी । 

    . महिला तथा बालबालिकाविरुद्ध हिंसा, उनीहरूलाई मानसिक तनाव ।

    . सामाजिक अभियन्ताको नाममा सामाजिक भँडुवाको बिगबिगी ।

    . विश्लेषक तथा विज्ञका नाममा हचुवा गफ दिनेको अन्तर्वार्ता र भाषणको बाढी ।

    . आधारहीन आरोप, बदनामी, गालीगलौज, गाली बेइज्जती, झैझगडा |

    . यौनजन्य अश्लील समाचार, भिडियो तथा फोटोको प्रवाह ।

    . कुनै व्यक्तिको फोटो वा भिडियो जोडेर वा सम्पादन गरेर बेइज्जतपूर्ण सामग्री प्रवाह ।

    . गलत सूचनालाई समाचारजस्तै बनाएर कुप्रचार ।

    . तथ्य, तस्बिर र भिडियो वा अभिव्यक्तिलाई बङ्ग्याएर भ्रमको फैलावट ।

    १०. एउटा सन्दर्भ र अवस्थाको सामग्री (अडियो, भिडियो र फोटो) लाई अर्को सन्दर्भमा दुरुपयोग |

    ११. व्यक्तिगत वा संस्थागत गोपनीयता भङ्ग,

    १२. निजी मामिलामा अनावश्यक सार्वजनिक बहस र चासो ।

    १३. अन्तरङ्ग सम्बन्धलाई सार्वजनिक गर्नु वा गर्न लगाउनु ।

    १४. भ्रम हुनेगरी भिडियो, तस्बिर, तथ्य तथा विषय तोडमोड ।

    १५. तथ्य, तथ्याङ्क विपरीतका शीर्षक ।

    १६. गलत तथा अनावश्यक सामग्रीमा करोडौँ मान्छेको अरबौँ घन्टा समयको बर्बादी ।

    यसले हाम्रो दिमागलाई प्रदूषित गरेको छ, परिवार र समाजलाई भड्काएको छ, अनि, लोकतन्त्रलाई कमजोर बनाएको छ ।

    केही बेफाइदा र विकृतिलाई न्युनीकरण गर्न ध्यान नदिएकाले आम नागरिकमा यस्तो भान पर्न गएको हो । त्यसैले अब तत्काल इन्टरनेटको सुरक्षित, व्यवस्थित र अनुशासित प्रयोगका बारेमा सिकाउन देशव्यापी अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।

    इन्टरनेटमा भएका विकृतिहरूको न्युनीकरणतर्फ ध्यान नदिँदा यसबाट भएका चामत्कारिक धेरै सेवा सुविधा र फाइदाहरू ओझेलमा परेका छन् । इन्टरनेटका कारण धेरै असम्भवजस्ता लाग्ने काम पनि सम्भव भएका छन् । सात समुद्रपारिको मान्छेसँग हेरेर निःशुल्कसरह कुराकानी गर्न पाइएको छ भने सासरको जुनसुकै कुनाको खबर केही सेकेन्डमा अर्को कुनासम्म पुग्न र थाहा पाउन सम्भव भएको छ । यस्ता लाखौँ उदाहरण छन् इन्टरनेटबाट भएका फाइदाका । तर, केही बेफाइदा पनि भइरहेका छन् । ती बेफाइदा न्युनीकरण गर्न नसक्दा इन्टरनेट माध्यम नै खराब हो कि भन्ने भान पर्न थालेको छ । ती केही बेफाइदा र विकृतिलाई न्युनीकरण गर्न ध्यान नदिएकाले आम नागरिकमा यस्तो भान पर्न गएको हो । त्यसैले अब तत्काल इन्टरनेटको सुरक्षित, व्यवस्थित र अनुशासित प्रयोगका बारेमा सिकाउन देशव्यापी अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।

    इन्टरनेटको अनुशासित प्रयोग गर्न नजान्दा कतै आफूले अपराध गरिरहेको हुन सक्छ भने कतै आफू अपराधको सिकार भइएको हुन सक्छ । त्यो कुरा पनि धेरै नागरिकलाई थाहा छैन । त्यसैले इन्टरनेटमा हुने अपराधबाट जोगिन र आफ्नोतर्फबाट जान वा अन्जानमा गलत कार्य हुन नदिन सिकाउने अभियानको आवश्यकता भएको हो । इन्टरनेटको सदुपयोग हुनुको सट्टा दुरुपयोग बढेकाले इन्टरनेटमार्फत हुने अपराध दिन-प्रतिदिन बढ्दै गइरहेको छ । नेपाल प्रहरीअन्तर्गतको साइबर ब्युरोले हरेक वर्ष इन्टरनेटसम्बन्धी आपराधिक घटना वृद्धि हुँदै गइरहेको देखाएको छ आफुहरूसँग उजुरी दिएकाहरूको मात्रै विवरण हुने भएकाले उजुरी नै नपरेका आपराधिक घटनाको सङ्ख्या अत्यन्त धेरै रहेको ब्युरोको दाबी छ । त्यसैले यसको तीब्र वृद्धिसँगै त्यसलाई न्युनीकरण गर्ने प्रयास पनि तत्काल तीब्र रूपमा गर्नुपर्ने देखिन्छ । त्यसको मुख्य उपाय भनेकै डिजिटल साक्षरता हो ।

    डिजिटल साक्षरताको अभ्यास विश्वका धेरै देशमा राष्ट्रिय रणनिति नै बनाएर भइरहेका छन् । यसबारेमा हामीले अहिले छलफल मात्रै गरिरहेका छौँ तर धेरै देशमा आधा दसकभन्दा अगाडिदेखि नै काम भइरहेका छन् । फ्रिडम फोरमले प्रकाशित गरेको राष्ट्रिय साइवर सुरक्षा रणनीति (रासासुर) सम्बन्धी पुस्तिकाका अनुसार अस्ट्रेलियाको राष्ट्रिय साइवर सुरक्षा रणनीति (सन् २०१६) मा जनतालाई साइबर सुरक्षा सीप सिकाउने उल्लेख गरिएको छ । रणनीतिपत्रमा लेखिएको छ, ‘सरकार सम्पूर्ण अस्ट्रेलियाली जनताको सुरक्षित अनलाइनका लागि दिगो, राष्ट्रिय सचेतना निर्माण अभियानका विभिन्न गतिविधि गर्ने उद्योगी, अनुसन्धाता र नागरिक समूहसँग सहकार्य गर्नेछ । यस कार्यक्रमले अस्ट्रेलियाली जनतालाई साइबर चुनौतीमा पर्ने वास्तविक असर र यसले कसरी हाम्रो वर्तमान र भविष्यको समृद्धिमा असर पार्छ भन्ने शिक्षा दिनेछ ।’ यसको अर्थ यसले पार्ने सकारात्मक र नकारात्मक दुवै असरबारेमा आम नागरिकलाई शिक्षा प्रदान गर्नु सरकारको मुख्य रणनीतिअन्तर्गत पर्दछ । ‘हाल जसरी सरकारजत्तिकै समान साझेदारको रूपमा निजी क्षेत्र र समुदायलाई सहभागी गराएर इन्टरनेटको व्यवस्थापन गरिएको छ, त्यो नै अत्यन्त प्रभावकारी मोडेल हो ।

    इन्टरनेटको बहुसरोकारवाला व्यवस्थापन/नियमनले मौलिक मानव अधिकार जस्तै अभिव्यक्ति तथा गोपनीयताको हकबिच सन्तुलन कायम गर्दै आर्थिक लाभ र सामाजिक अवसर प्रदान गर्दछ’, अस्ट्रेलियाली रासासुरमा उल्लेख छ।

    अमेरिकाले पनि सन् २०१८ मा बनाएको राष्ट्रिय साइबर सुरक्षा रणनीतिमा खुला, विश्वसनीय र सुरक्षित इन्टरनेट प्रवर्द्धन गर्ने आफ्नो सिद्धान्तमा दृढ रहेको उल्लेख गरेको छ । रणनीतिमा लेखिएको छ, ‘खुलापन र स्वतन्त्रता कमजोर पार्ने, नवप्रवर्तनमा बाधा पुऱ्याउने र इन्टरनेटको कार्यक्षमतालाई जोखिममा राख्ने राज्यकेन्द्रित ढाँचा निर्माणको विरुद्ध अमेरिका इन्टरनेट गभर्नेन्समा बहुसरोकारवाला मोडेलको सुनिश्चित गर्ने विश्वव्यापी प्रयासमा सक्रियरूपमा सहभागी भइरहनेछ ।’ यहाँ पनि उपभोक्तालाई दुरुपयोगको सिकार बन्नबाट बच्न सिकाउने र दुरुपयोग गर्नेहरूलाई रोक्ने उपायहरू अपनाउनेतर्फ जोड दिइएको छ । त्यसैगरी, सरकार, निजी क्षेत्र, नागरिक समाज, शैक्षिक जगत् र प्राविधिक समुदायलाई समान हिसाबले भाग लिन सबल बनाउने अमेरिकी रणनीति पनि डिजिटल साक्षरताकै स्वरूप हो । त्यसैगरी डेनिस रासासुर (सन् २०१८) ले बालबालिका र युवाहरूमा डिजिटल न्याय र डिजिटल सीप सिकाउने उद्देश्य राखेको छ ।

    शैक्षिक प्रणालीमा बालबालिका, युवा र शिक्षकहरूमा सुरक्षा चुनौतीबारे सचेतना अभिवृद्धिका संयुक्त प्रयास गर्ने कार्य डेनिस सरकारको साइवर सुरक्षा रणनीतिअन्तर्गत पर्दछ । विभिन्न शैक्षिक तथा तालिम कार्यक्रमसँगै शिक्षक र विद्यार्थीलक्षित साइबर र सूचनासम्बन्धी शैक्षिक सामग्री निर्माण र सचेतनाका अभियान जारी राखिने डेनिस सरकारको रणनीति छ । साइबर र सूचना सुरक्षाका विषयमा आम नागरिक, व्यवसायी र सार्वजनिक निकायलाई सचेत बनाउने, डिजिटल साक्षरता र आवश्यकअनुसार बालबालिका र वृद्धवृद्धालगायत जोखिममा रहेका समूहलाई विशेष ध्यान दिई आम नागरिकको सुरक्षा गर्ने रणनीतिमा उल्लेख गरिएको छ।

    स्विडेनको राष्ट्रिय साइवर सुरक्षा रणनीति (२०१७) को उद्देश्यमा लेखिएको छ, ‘साइबर सुरक्षामा अन्तर्राष्ट्रिय सहयोग, स्वतन्त्रता र मानव अधिकारको सम्मान गर्ने उद्देश्यसहितको विश्वव्यापी, पहुँचयोग्य, खुला र सबल इन्टरनेटको एक अंशको रूपमा सुदृढ गरिनेछ ।’ यस रणनीतिले पनि आम नागरिकलाई इन्टरनेटमा पहुँच बढाउने, स्वतन्त्रता नखोसिने र विकृति न्युनीकरणका लागि नागरिकहरूलाई नै सक्रिय बनाउनेतर्फ जोड दिएको छ । यसरी विश्वका धेरै देशमा नागरिकलाई सचेत बनाएर नै डिजिटल संसारलाई सकारात्मक दिशामा लैजान सकिन्छ भन्ने निष्कर्षका साथ काम भइरहेको देखिन्छ ।

    नेपालमा पनि डिजिटल साक्षरताको अभियानमा ढिलाइ भइरहँदा यसले हरेक व्यक्तिको दिमाग, परिवार, समाज र देशलाई नै दुषित पारिरहेको छ ।

    हामी दुषित खानाका बारेमा सचेत छौं, तर दुषित डिजिटल सामग्रीका बारेमा सचेत हुन सकेका छैनौँ । त्यसैले इन्टरनेटमा आएका दुषित सामग्री कसरी पहिचान गर्ने र त्यसबाट कसरी बच्ने भन्नेबारेमा सिकाउने अभियान चलाउन धेरै ढिला भइसकेको छ । डिजिटल साक्षरता अभियान राज्यले नै चलाउनुपर्छ भने जनपत्रकार सङ्गठन नेपालजस्ता जनपक्षीय पत्रकारिताको वकालत गर्ने संस्थाहरूलाई पनि परिचालन गरिनुपर्दछ । केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो मातहतका अङ्गहरूमार्फत आम नागरिकसम्म डिजिटल साक्षरता अभियान एकैचोटि चलाउनुपर्दछ ।

    (दुई दसकदेखि पत्रकारितामा क्रियाशील भण्डारी अनलाइन टेलिभिजन पत्रकार सङ्घका अध्यक्ष हुन् ।उनको यो सामग्री जनपत्रकार अंक २ बाट लिएका हौं ।)

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology