प्रचण्डले रिगलको रिहाईसँग प्रधानमन्त्री पद साँटे : माइला सी

  • साझा डबली
  • बिहिबार, अशोज २५, २०८०
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य माइला सीले प्रधानमन्त्री प्रचण्डले ज्यान मुद्धामा कैद भुक्तान गरिरहेका रिगल भनिने योग ढकालको रिहाइसँग प्रधानमन्त्री पद साँटेको आरोप लगाएका छन् । नेपाल कम्युनिस्ट पार्टी उपत्यका व्युरोले सी संस्कृति अनुसारको सी स्मृति दिवसको अवसरमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै माइला सीले प्रचण्डले रिगलको रिहाईसँग प्रधानमन्त्री पद साँटेको आरोप लगाएका हुन् ।

    उनले कांग्रेस सभापति शेरबहादुर देउवाले रिगललाई नछोडे सरकार ढालिदिने चेतावनी दिएपछि प्रचण्ड सरकार रिगललाई छोड्न बाध्य भएको बताए । ‘खुँडा प्रहारबाट दिन दहाडै व्यक्ति हत्या गर्ने हत्यारालाई छुटाउन पर्ने बाध्यतामा सरकार कसरी पुग्यो, किन रिगललाई ६० प्रतिशत कैद मिनाह गरियो ?’, काठमाडौं शान्तिबाटिमा आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘यसमा सत्ता लेनदेनको कुरा छ । देउवाको धम्की पछि प्रचण्ड डराएर हतार हतारमा निर्णय गर्न बाध्य भएका हु्न् ।’

    इजरायलमा नेपाली विद्यार्थीको ज्यान जानुमा सरकार जिम्मेवार रहेको उनको भनाई थियो । ‘नालायक सरकारले नेपालीहरुलाई विदशीन बाध्य पारेको छ । सरकारको यो रवैयाका कारण नेपाली विद्यार्थीले अकालमै ज्यान गुमाउनु पर्यो ।’, उनले भने, ‘धेरैले प्यालेस्टाइनीलाई आतंककारी भनेर दोष दिइरहेका छन् । उनीहरु आफ्नो माटोका लागि लडेका हुन् । नेपाली विद्यार्थी मर्नुमा न प्यालेस्टाइनी दोषी हुन् न इजरायल सरकार दोषी हो । यसको मुख्य दोषी नेपाल सरकार हो । जसले नेपालीलाई विदेशी बाध्य पार्यो ।’

    प्यालेस्टाइनीहरु आफ्नो देश फिर्ता लिनका लागि लडिरहेको भन्दै उनले न्यापूर्ण लडाइमा सबैले साथ दिनुपर्ने बताए । ‘इजरायल प्यालेस्टाइनीहरुको देश हो । दोश्रो विश्वयुद्ध पछि यहुदीहरु भागेर इजरायल आएका हुन् । उनीहरुले प्यालेस्टाइनीहरुको देश कब्जा गरेर बसे ।’, उनले भने, ‘प्यालेस्टाइनीहरु आफ्नो माटोका लागि लडिरहेका छन् ।’

    दीप प्रज्वलन कार्यक्रममा नेकपा उपत्यका व्युरो इन्चार्ज कृति सीले पहिलो मैनबत्तिले दियो बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य विपिन सी, विजय सी, आरोह सी लगायत प्रतिनिधि समिति सदस्य, जिल्ला इन्र्चाज सेक्रेटरी तथा जनसमुदायको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमलाई नेकपा केन्द्रीय सदस्य भृकुटी सीले संचालन गरेकी थिइन् ।

    नेकपाको ९औं महाधिवेशनले सी संस्कृतिको विकास गर्दै जन्म, मृत्यु र विवाह नयां संस्कृति अनुसार गर्ने निर्णय गरेको थियो । महाधिवेशनले असोज २५ गते आफन्तहरुको सम्झनामा सी स्मृति दिवस मनाउन निर्णय गरेको थियो । सोही निर्णय अनुसार नेकपा उपत्यका व्युरोले जनयुद्ध, एकीकृत जनक्रान्तिका सहिद तथा आफ्न्तजनहरुको सम्झनामा शान्तिबाटिकामा दीव प्रज्वलन गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology