नेकपा उपत्यका ब्युरोद्वारा ३२ लाख बराबरको राहत संकलन, आजै महासचिवलाई हस्तान्तरण

  • साझा डबली
  • बुधबार, कार्तिक २२, २०८०
  • काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी उपत्यका ब्युरोले रुकुम पश्चिम र जाजरकोटका भुकम्प प्रभावितका लागि ३२ लाख बराबरको राहत संकलन गरेको छ ।

    काठमाडौंको कपुरधारास्थित नेकपा उपत्यका ब्युरो कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गरि समग्र ब्युरो अन्तर्गतका जिल्लाहरुबाट नगद १ लाख ३३ हजारसहित ३२ लाख बराबरको राहत संकलन गरिएको जानकारी दिएको हो ।

    बुधबार पार्टी कार्यलयमा संकलित राहत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा उपत्यका ब्युरो इन्चार्ज कृति सीले समग्र उपत्यका ब्युरोबाट ३२ लाख बराबरको राहत सङ्कलन गरिएको बताए ।

    उनले भने, ‘शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाइ गएको विनाशकारी भुकम्पको क्षती पश्चात पार्टीको उपलब्ध स्थायी समिति सदस्य तथा केन्द्रिय सदस्यहरुको आपतकालीन संयुक्त बैठकको निर्णय अनुसार देशैभरका जिल्ला ब्युरो पार्टीहरुलाई पिडितको राहत तथा उद्धार कार्यमा जुट्न निर्देशन थियो । त्यही अनुसार हाम्रो ब्युरो पनि लागि पर्यो पीडितहरुप्रति उपत्यकाका जनता, व्यापारीहरुले देखाएको सदासयता पार्टी कमिटीको अथाह मेहनतले आज पीडितहरुको घाउमा थोरै भएनि मलाम लगाउन सफल भएका छौं ।’

    पार्टी केन्द्रको आफ्नो केन्द्रिय उत्पादनबाट भुकम्प प्रभावितहरुलाई खाद्यान्न र नगत दिने निर्णयसँगै हामी पनि राहत संकलन कार्यमा जुट्यौ तर राज्यको कथित एकद्वार प्रणालीको उर्दीले राहत संकलनमा अवरोध भयो, प्रशासनको अवरोधका बाबजुद पनि पिडितहरुका लागि यति मात्रामा राहत जम्मा गर्न सफल भयौँ भन्दै दाताहरुप्रति आभार व्यक्त गरे।

    ‘राज्यले भनेको एकद्वार प्रणालीले राहत सामाग्री वास्तविक पीडितसम्म नपुग्ने पुगेपनि आफ्ना मान्छे मात्र पोस्ने काम भएको गुनासोहरु सुनिएको बताए । एकद्वार प्रणालीले आफ्ना कर्मचारीतन्त्र र आफ़न्तहरुलाई पोस्ने मात्र काम हुन्छ भ्रस्टाचार, अनियमितताको खतरा बढी हुन्छ यो गलत छ,’ उनले भने।

    उनले आफ्नो ब्युरोले संकलन गरेको सम्पूर्ण जिन्सी पार्टी महासचिव समक्ष आजै हस्तान्तरण गर्ने र बाँकी नगद दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्ने समेत जानकारी दिए।

    ब्युरो अन्तरगतका जिल्लाहरुमा जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्यहरुको कमाण्डमा सुरु गरिएको राहत संकलन अभियानमा ज्ञानु सी, राजकुमारी सी, बन्धु सी, भृकुटी सी, बिहानी सी, सुरेन्द्र सी, सुदर्शन सी, डीआर लगाएतका नेताहरुले नेतृत्व गरेका थिए भने अभियानमा पार्टीका विभिन्न तह र तप्काका नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता थियो ।

    संकलित राहत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेकपाका केन्द्रिय सदस्य बिपिन सी, भृकुटी सी, बिहानी सी, सुदर्शन सी, राजकुमारी सी लगाएतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology