आज फ्रेडरिक एंगेल्सको जन्मदिन, यस्तो छ उनको कृतित्व र व्यक्तित्व

  • साझा डबली
  • मङ्लबार, मंसिर १२, २०८०
  • वैज्ञानिक साम्यवादका दोश्रो संस्थापक फ्रेडरिक एंगेल्सको जन्म सन् १८२० नोवेम्वर २८ तारिखका दिन जर्मनीको राइन प्रदेशको वर्मेन शहरमा भएको थियो । कार्ल मार्क्सपछि विश्वका आधुनिक सर्वहारा वर्गको श्रेष्ठ दार्शनिक एवं चिन्तक थिए फ्रेडरिक एंगेल्स । मार्क्स र एंगेल्स दुवैले एउटा अभिन्न आदर्शका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गरे ।

    फ्रेडरिक एंगल्स कार्लमाक्र्सका सहयोगी मित्र र मार्क्सको निधनपछि उनको मार्क्सवादी सिद्धान्तलाई पूर्णता दिने दार्शनिक हुन् । कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको नाम सँगसँगै उच्चारण गर्ने गरिन्छ । उनी मार्क्सवादको प्रर्वतक पनि मानिन्छन् । सन् १८४८ मा दुवै मिलेर कम्युनिस्ट घोषणापत्र तयार गरे । त्यही कम्युनिष्ट घोषणापत्र नै सर्वहारा शिविरको सबैभन्दा ठूलो दार्शनिक हतियार बन्न पुग्यो ।

    सन् १८४५ मा मजदुर वर्गको अवस्था र सन् १८४६ मा पवित्र परिवार र जर्मन विचारधारा नामक ग्रन्थहरूका रचनाकार थिए एंगेल्स । उनले सन् १८४७ मा कम्युनिस्ट लिगको कार्यक्रमको मस्यौदा र सन् १८४८ मा कार्ल मार्क्ससँग मिलेर कम्युनिस्ट घोषणापत्र आदि ग्रन्थहरूको रचना गरेर कम्युनिस्ट दर्शनका आधारशिला स्थापित गरेका थिए ।

    सन् १८६४ मा कम्युनिस्ट इन्टरनेशनलको स्थापनामा कार्ल मार्क्सका सहयोगी, तात्कालीन जर्मन पूँजीवादले मार्क्सवादमाथि गरेको हमलाको प्रतिउत्तरमा ड्यूहरिङ्ग मतखण्डन, लुडविक फायरवाख र वालसक्रिय दर्शनके अन्त्य, परिवार, नीजि सम्पत्ति र राज्यको उत्पतिजस्ता विश्वविख्यात पुस्तकका लेखक उनै एंगेल्स थिए । उनको दार्शनिक चिन्तनको क्रान्तिबाटै मार्क्सवाद स्थापित भयो ।

    संसारभर प्रसिद्ध पूँजीको रचना गर्न कार्ल मार्क्सलाई अभूतपूर्ण सहयोग उनै एंगेल्सले गरे । दर्शनशास्त्रलाई अतितका असंख्य धारा प्रणालीहरूबाट मुक्त पारेर दर्शनको आधारभूत प्रश्नमा दर्शन पनि वर्गीय हुन्छ भन्ने मान्यतालाई स्थापित गर्न एंगेल्सको ठूलो योगदान छ । सन् १८८९ मा दोश्रो इन्टरनेशनलको स्थापना गरेर मार्क्सवादलाई समृद्ध बनाउने काममा नै फ्रेडरिक एंगल्सको सम्पूर्ण योगदान रहेको छ ।

    आधुनिक मजदुर वर्गको मुक्तिको बाटो देखाई दिने एक जना महान चिन्तक थिए । एंगेल्स कार्ल मार्क्सका एक सच्चा साथी थिए । सन् १८८३ मा मार्क्सको निधन भएपछि पूँजीको तेस्रो खण्ड एंगेल्सले नै प्रकाशित गरेका थिए । सर्वहारा वर्गका दार्शनिक एंगेल्सको निधन ५ अगस्त १८९५ मा लण्डनमा भएको थियो ।

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology