पत्रकारिता र साहित्यको सम्मिश्रण

  • साझा डबली
  • सोमवार, माघ १, २०८०
  • २०३२/३३ सालतिर पत्रिका दर्ता गर्न खोजें, सकिनँ । २०३५ सालमा ठूला पञ्चहरूलाई चाकडी गर्दै गएँ । नमस्ते गरेपछि बल्ल बल्ल ‘मुलुकी आवाज’ दर्ता भयो । त्यसबेला पत्रिका दर्ता गर्न बहुत गाह्रो थियो । पुलिस रिपोर्ट, बैंक ग्यारेन्टी आदि अनेक चाहिन्थ्यो । राजारानीको जन्मोत्सवमा विज्ञापन छाप्ने चलन थियो । मैले रानीको जन्मोत्सवको शुभकामना विज्ञापन छापेको थिएँ । ‘श्री ५ बडामहारानी’ हुनुपर्नेमा ‘श्री ५ बडामरारानी’ हुन पुगेछ । यही कारणले करिब २४ घन्टा हिरासतमा राखियो, पत्रिका प्रतिबन्धित भयो ।

    मेरो जन्म २००९ साल मंसिर १ गते गोर्खाको हर्मी लिगलिगमा भएको हो । हामी २०१४ सालमा चितवनको तत्कालीन गीतानगर गाउँ पञ्चायतको वडा नम्बर-२, चम्पानगरमा बसाइँ सरेका हौं । दाजुभाइको बसाइ अझै त्यही गाउँमा छँदै छ, मचाहिँ सरिसकेको छु ।

    मेरो परिवारमा पत्नी, दुई छोरा र एक छोरी छन् । छोराछोरी सबैको विवाह भइसकेको छ । जेठो छोरापट्टि दुई नाति छन्, कान्छा छोरापट्टि एउटा नाति छ । छोरीपट्टि दुई नाति छन् । छोराहरू काठमाडौंतिर सानोतिनो व्यवसाय गर्छन् ।

    मेरा पितामाताको नाम रेवतीरमण घिमिरे र अम्बिकादेवी घिमिरे हो । मातापिताका पाँच छोरा र एक छोरीमध्ये दिदी सबैभन्दा जेठी हुनुहुन्छ । मातापिता बितिसक्नुभएको छ । त्यस्तै दिदी र दुई दाजु पनि बितिसक्नुभएको छ । अहिले हामी तीन भाइ मात्र बाँकी छौं । म काहिँलो हुँ ।

    कर्मभूमि

    मेरो कर्मभूमि चितवन हो । छोटो समयका लागि करिब १०/१२ वर्ष नेपालगञ्जमा पनि बसें । म २०२७/२८ सालदेखि पत्रकारितामा प्रवेश गरेको हुँ । त्यही बेला मुलुकी आवाज भन्ने साप्ताहिक पत्रिका दर्ता गरेर चलाउन थालेको थिएँ ।

    केही समयपछि नै मुलुकी आवाजलाई प्रतिबन्ध लगाइयो र मविरूद्ध पक्राउपूर्जी जारी गरियो । मेरो रूचि साहित्यतिर पनि थियो । स्कुल, कलेजमै हुँदा कविता लेख्थेँ । साहित्यसम्बन्धी पत्रिका चलाउन मन लागेपछि २०३६ सालतिर आरन भन्ने पत्रिका दर्ता गरेँ तर ४/५ अंक निकालेपछि चलाउन सकिनँ । त्यसपछि काठमाडौँ आएँ ।

    अहिलेको दैनिकी

    अचेलभरि सामान्यतः बेलुका ८ देखि ९ बजेतिर सुतिसक्छु । टेलिभिजनमा समाचारसम्म हेर्ने प्रयत्न गर्छु तर मोबाइलमै अनलाइनदेखि अनेक समाचार आउन थालेकाले टेलिभिजन हेर्न हत्ते हाल्दिनँ । पहिल्यैदेखि ढिलोमा ९ बजेसम्ममासुत्ने गर्थे, अहिले पनि त्यही बानी छँदै छ । महिनामा २०/२२ दिनजति राती २ बजे उठ्छु । मेरो लेख्ने पढ्ने जति काम त्यही बेला गर्छु । दिउँसो केही गर्दिनँ । कलेज पढ्दा पनि दिउँसो लेखपढ गर्ने बानी थिएन । मेरा साथीहरू परीक्षाका बेलामा दिउँसो पनि पढिरहेका हुन्थे, म भने फिल्म हेर्न जान्थे । उनीहरूले यो कुरा थाहा पाउँदैनथे । यही आदत अहिले पनि छ ।

    मेरा दुईवटा उपन्यास, दुईवटा निबन्ध सङ्ग्रह, सातवटा कविता सङ्ग्रह प्रकाशन भइसकेका छन् । यसबाहेक ‘आधारभूत पत्रकारिता शिक्षा’ भन्ने पुस्तक पनि लेखेको छु । नेपाल प्रेस इन्स्टिच्युटको क्षेत्रीय शाखा नेपालगञ्जमा प्रशिक्षक भएर ८/१० वर्ष काम गरेँ । त्यहाँ तीनमहिने, एकमहिने तालिम सञ्चालन हुन्थे । सम्पादकीय, फिचर, समाचार आदि लेखनबारे प्रशिक्षण दिने गरेको हुँदा ती सबैको ह्यान्ड्स आउट मसँग सुरक्षित थिए ।

    स्थानीय महेन्द्र बहुमुखी क्याम्पसमा आमसञ्चार भन्ने विषय पनि राखिएको थियो तर पढाउने मानिस भने रहेनछन् । क्याम्पस प्रमुख सीतारामराज विष्टको अनुरोधपछि मैले भनें, ‘मसँग केही ह्यान्ड्स आउट छन् । म तिनलाई समेटेर एउटा किताब लेखिदिन्छु । बीए भोकेसनल जर्नालिजम लिनेहरूले त्यो पढे भने फाइदा हुन्छ ।’ मेरो ह्यान्ड्स आउटलाई केही परिमार्जन गरेर किताबको स्वरूपमा ढालें । यी जे-जति काम भए, सबै राती उठेर गर्थे । दिनभरि यताउता घुम्ने, केही पढेजस्तो गर्ने, कार्यक्रम, गोष्ठी आदिमा जाने गरेर बित्छ ।

    साहित्य लेखन

    म विचारले वामपन्थी, प्रगतिवादी हुँ । २०३५ सालमा ‘मुलाको बोक्रा’ र ‘आलीमुनिको झ्याउँकीरी’ कविता सङ्ग्रह लेखें । म मोहन कोइरालाबाट प्रभावित छु । उहाँको ‘फर्सीको जरा’ पढेपछि त्यसका विम्बबाट अत्यन्त प्रभावित भएँ र यसपछि मात्र ती पुस्तक लेखेको हुँ । अहिले हेर्दा केही अपरिपक्व छ भन्ने लाग्छ किनभने कोइरालाबाट प्रभावित भए पनि त्यो उचाइका छैनन् ।

    म २०२७ सालबाटै पत्रकारितामा जोडिँदै आएँ । ०३६/३७ सालदेखि काठमाडौं आएपछि सक्रिय पत्रकारितामा लागें । त्यसबेला बालमुकुन्ददेव पाण्डेको संरक्षक, गोवर्द्धन पाण्डेको प्रतिध्वनि जस्ता पत्रिकामा संलग्न भएँ । व्यावसायिक पत्रकारितामा लागेपछि साहित्य लेखन अलि ओझेलमा पर्यो ।

    २०५०/०५१ सालमा नेपालगञ्ज गएँ । त्यहाँ पुगेपछि आञ्चलिक विम्ब समेटेर कविता लेख्न थालें । एउटा ठूलो तीन/चार तलाको भवनअगाडि सानो घुम्तीमा मंगली गुप्ताको पान पसल थियो । मंगलीको पान बेच्ने शैली, आनीबानी, स्वभाव केही फरक थियो । उनी साह्रै रसिक खालकी एकल महिला थिइन् । तिनका ६ जना बालबालिका थिए र आयआर्जनको बाटो त्यही पसल थियो । म त्यहाँ दैनिक पान खान जान्थें । मलाई लाग्यो, यिनको परिवेश समेटेर किन नलेख्ने ? उनी र पान पसललाई विम्ब बनाएर कविता लेखें । साहित्यकार वृत्तमा अहिले पनि मलाई धेरैले ‘मंगली गुप्ताको पान’ भनेर चिन्छन् । त्यो कविताले मलाई पहिचान दियो । दुई/तीन वर्षअघि प्रज्ञा भवनमा आयोजित एउटा कार्यक्रममा अतिथि कवि भनेर बोलाउँदा पनि फेरि ‘मंगली गुप्ताको पान पसल’ वाचन गर्न भनियो, गरेँ ।

    त्यो कविता २०५६ सालताका लेखिएको भए पनि संग्रह २०६० सालमा मात्रै प्रकाशन भयो । यसबाहेक २०५६ सालसम्ममा मैले धेरै कविता लेखिसकेको थिएँ ।त्यसबेला मैले ‘भित्ताको रङ’ कविता संग्रह प्रकाशन गरें ।

    आधारभूत पत्रकारिताचाहिँ २०६१ सालमा लेखेको हुँ । यसबाहेक मैले बालसाहित्यमा पनि हात हालेको छु । २०६२ सालमा ‘सुन्दर बस्ती’ भन्ने बालकाव्य निकालें ।

    ‘थालथालमा सपना’ भन्ने अर्को कविता सङ्ग्रहले मलाई राष्ट्रिय चर्चा गराइदियो । हरि अधिकारीले नेपाल म्यागजिनमा समीक्षा लेखेका थिए । त्यो समीक्षाका बारेमा धेरै मानिसले प्रतिक्रिया जनाए, “हरि अधिकारीले राम्रो भनेको साहित्य यो दुनियाँमा कुनै छैन । उनले आफ्नै विषयमा लेख्नुपर्यो भने पनि आफैँलाई गाली गर्छन् । रेशम विरहीको कविताका बारेमा कहीं पनि गाली गरिएको छैन । उनलाई किन प्रशंसा गरे ?” मेरो कविताबाट समीक्षक अधिकारी साह्रै प्रभावित भएको देखिन्छ । कतिसम्म भने उनले मलाई पाब्लो नेरूदासँग तुलना गरेका छन् । उनले लाक्षणिक रूपमा ‘पाब्लो नेरूदाको कविताभन्दा कम छैन’ भनेरै शुरू गरेका छन् ।

    यसपछि २०७२ सालमा ‘देब्रे आँखा’ निबन्ध संग्रह निकालें । त्यसले मदन पुरस्कार पाउँछ भनेर व्यापक चर्चा भयो । त्यसबेला कान्तिपुर दैनिकमा प्रकाशित एउटा बुक सर्वेमा उत्कृष्ट कृतिहरूमा ‘देब्रे आँखा’ लाई पनि समावेश गरिएको थियो । सबैतिर एक नम्बर भनिए पनि पुरस्कार समितिको भने शर्टलिस्टमा पनि परेन । पत्रकार नारायण वाग्लेले एउटा ट्वीट गरे, ‘झन्डै झुक्किएँछु म यो किताब नपढेर, यो किताब नेपालको राजनीति र नेपालको कम्युनिस्ट मुभमेन्ट बुझ्न पढ्नैपर्ने रहेछ ।’ त्यो ट्वीटले किताबको मार्केट निकै बढ्यो । अहिलेसम्म तीन संस्करण निस्किसकेको छ ।

    २०७४ सालमा ‘प्रेमदासको डायरी’ उपन्यास निस्कियो । यसमा कम्युनिस्ट आन्दोलन र माओवादी जनयुद्धबारे फरक ढंगले चर्चा गरिएको छ । केही आलोचनात्मक छ । जनयुद्धका विकृतिबारे थुप्रै कुरा समेटिएका छन् ।

    २०७५ सालमा क्यान्सर भयो । अस्पतालको बेडमा बसेर पनि लेखें बादशाहको रातो कोट’ एउटै कविता ४० पृष्ठको छ । यसमा तीनवटा कविता छन् । यसमा पुरूषोत्तम सुबेदीले निकै राम्रो भूमिका लेखिदिनुभएको छ । यो कवितामा मैले पहिलो बादशाह पृथ्वीनारायण शाहलाई बनाएको छु । दोस्रो बादशाह १०४ बर्से राणा शासनलाई र तेस्रो बादशाह २००७ सालदेखि ०१५ सालसम्मलाई बनाएको छु । चौथो बादशाह २०१५ देखि २०१७ साल, पाँचौं बादशाह पञ्चायतकाल र छैटौं बादशाह २०४६ देखि ०६२/०६३ सम्मलाई बनाएको सातौं बादशाह भने गणतन्त्र आएपछि सत्तामा गएका रातो विचारका मानिसलाई बनाएको छु । रातो कोटभित्र अनेक चरित्र छन् । रोल्पाको थवाङदेखि सुखानीको रगतसम्मका कुरालाई प्रतीकात्मक रूपमा उतारिएको छ ।

    पत्रकारिताको शुरूआत

    चितवनमा भएको एउटा रमाइलो घटनाबाट म पत्रकारितामा प्रवेश गरेको हुँ । त्यसबेला म हाइस्कुलको विद्यार्थी संगठनको सभापति थिएँ । २०२७ सालमा नेपाल-भारत सन्धि नवीकरण हुनुपर्ने थियो, त्यो भएन । त्यसबेला भारतले नाकाबन्दी लगायो । त्यहाँ ठूलो विरोध जुलुस निकालियो ।

    त्यसताका म विद्यार्थी नेता भइसकेको थिएँ । म गीतानगर स्कुलमा १० कक्षामा पढ्थेँ । त्यहाँबाट जुलुस नारायणघाट आएको थियो । मलाई विद्यार्थी नेताका रूपमा भाषण गर्न दिइयो । एउटा पर्खालमाथि उभिएर भाषण गरें । मैले भाषण गरेको कुरा काठमाडौंबाट निस्कने मातृभूमि पत्रिकामा छापिएछ । मैले यो २/३ महिनापछि मात्र थाहा पाएँ । म रेशमराज घिमिरेबाट रेशमराज विरही भइसकेको थिएँ । चितवनका मदनमोहन जोशीकहाँ मातृभूमि जाँदो रहेछ । उहाँले देखाउनुभएपछि म असाध्यै खुसी भएँ । मलाई लाग्यो, म निकै ठूलो भएँछु । त्यसबेला ५ पैसा पर्थ्यो जस्तो लाग्छ । मैले किनेर ल्याएँ र सिरानीमा राखें । करिब ६ महिनासम्म हरेक दिन निकालेर हेर्दै फेरि त्यहीं राख्दै गरें ।

    यो घटनाले मलाई पत्रकारितातर्फ आउन प्रेरित गर्न थाल्यो । २०२८ सालमा त्यही पत्रिकामा मदनमोहनजीले नै पठाइदिनुभएको मेरो कविता छापिएर आयो । मैले ‘यो कसरी छापिन्छ मलाई सबै बताउनु पर्यो’ भनें । छपाइ प्रक्रिया सुनेपछि म झन उत्साहित भएँ । २०२९ सालमा त मातृभूमिमा समाचार पठाउन थालिसकेको थिएँ । २०३२/३३ सालमा पत्रिका दर्ता गर्न खोजें तर सकिनँ । २०३५ सालमा ठूला पञ्चहरूलाई चाकडी गर्दै गएँ । नमस्ते गरेपछि बल्लबल्ल मुलुकी आवाज दर्ता भयो । त्यसबेला पत्रिका दर्ता गर्न बहुत गाह्रो थियो । पुलिस रिपोर्ट, बैंक ग्यारेन्टी आदि अनेक चाहिन्थ्यो ।

    राजारानीको जन्मोत्सवमा विज्ञापन छाप्ने चलन थियो । मैले रानीको जन्मोत्सवको शुभकामना विज्ञापन छापेको थिएँ । ‘श्री ५ बडामहारानी’ हुनुपर्नेमा ‘श्री ५ बडामरारानी’ हुन पुगेछ । यही कारणले करिब २४ घन्टा हिरासतमा राखियो, पत्रिकाचाहिँ प्रतिबन्धित भयो ।

     

    राजनीतिका कारण कारावास

    पत्रकारिता गरेकै वा लेखेकै कारणले त जेल परिनँ । राजनीतिक कारणले भने पटकपटक जेल परेको छु । २०३३ सालमा मलाई राजकाज मुद्दा लगाएर जेल हालियो । चितवनमा राजा र व्यवस्थाविरोधी एउटा पर्चा छरिएको थियो ।

    अब जीवनमा जागिर खानुपयो भन्ने लाग्यो मलाई २०३२ सालमा । त्यसबेला साझा प्रकाशनले जनक शिक्षा सामग्री केन्द्रको किताब पनि बेच्थ्यो । कृष्णचन्द्र सिंह प्रधान र क्षेत्रप्रताप अधिकारी एकजना अध्यक्ष र अर्का महाप्रबन्धक थिए । उहाँहरूले देशभरि शाखा खोलेर साझा र जनक शिक्षाका किताब बेच्ने निर्णय गर्नुभयो र २६ ठाउँमा शाखा खोल्नुभयो । ती शाखाका लागि शाखा प्रमुख मागियो । मैले पनि आवेदन दिएँ । लिखित र अन्तर्वार्ता पास भएर म इलामको शाखा प्रमुख भएर गएँ । इलाम शाखाले पाँचथरमा पनि डिपो खोलेर किताब बेच्नुपर्थ्यो । त्यहाँ कर्मचारी पनि राख्नुपर्ने भयो । स्थानीय राजेन्द्र सुवेदीको सहयोगमा ४/५ जना कर्मचारी राखें, पाँचथरमा डिपो पनि खोलें ।

    म भदौमा इलाम गएको थिएँ, असोजतिर चितवनमा राजाविरोधी पर्चाबाजी भएछ । निकै मानिस समाइएछन् । कसैले मेरो नाम पनि पोलिदिएछ । एक रात अमिक शेरचनको दिव्यनगरस्थित घरमा छापा हानिएछ । उनको घरमा गोली र केही डकुमेन्ट फेला पारेछन् । करिब ८/१० किलोमिटरको दूरीमा रहेको गीतानगरस्थित दण्डपाणि न्यौपानेकहाँ पनि छापा मारिएछ । पछि ती माओवादीको पोलिटब्युरो तहसम्म पुगे, अहिले बेपत्ता छन् । त्यसपछि मेरो घरमा आएर छापा मारियो । हामीसँग बन्दुक छ भन्ने रिपोर्ट रहेछ । हाम्रो घरमा अढाई सय मुरी धान अट्ने ठूलो गोदाम थियो ।

    ८/१० बिघा जग्गा भएको हाम्रो ठूलै परिवार थियो । जताततै तोडफोड गरेर बन्दुक खोजियो । ढोका खोल्न जबर्जस्ती गर्दा आमालाई चोट पनि लागेछ । घरमा काठको ठूलो बाकस थियो । त्यसमा मैले किताब राख्ने गरेको थिएँ । आमाले बडो चलाखीपूर्वक त्यो बाक्साको माथिपट्टि ग्यालेन ल्याएर तेल पोखिदिनुभएछ ।

    छापा मार्न आएका पुलिसले सोधेछन्, यहाँ के छ ? आमाले ‘यहाँ त तेल, घ्य राख्ने गरेको छ बाबु’ भन्नुभएछ । त्यहाँ पार्टीका घोषणापत्रदेखि अनेक कागजात थिए तर त्यो खोलेनछन् ।

    यो घटनाबारे थाहा पाएपछि पुसमा इलामबाट आएर वीरगञ्जस्थित बम्बे होटलमा बसें । मलाई त्यहाँ छापा हानेर पक्राउ गरियो र राजकाज मुद्दा लगाई जेल हालियो । पुस १६ गते बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीतिअन्तर्गत भारतबाट नेपाल आएका थिए । उनलाई भेटेर आउने देवेन्द्र नेपाली, शेषनाथ अधिकारीलगायत सबैलाई एकै ठाउँमा राखियो । म कम्युनिस्ट पार्टीमा पनि पुष्पलाल समूहमा थिएँ । त्यतिखेर ‘पुष्पलाललाई कांग्रेसको पुच्छर’ भनेर खेथे । मोहनविक्रमले त ‘गद्दार पुष्पलाल’ भनेर किताब नै लेखे । यसले गर्दा अमिकजीहरूले मलाई खेद्ने गरेका थिए । ‘यो कांग्रेसको पुच्छर हो, पर्चा तिमीहरूले नै छरेका हौ, हामीलाई तिमीहरूले फसाएका हौ भनेर मलाई खेदिरहन्थे । यही कारणले पनि हुन सक्छ जेलमा मेरो बढी उठबस कांग्रेसीहरूसँग हुन्थ्यो । कांग्रेसीहरूले पनि मप्रति सहानुभूति राख्थे । उनीहरू पनि ‘यसलाई कम्युनिस्टहरूले नै खेदेका छन्’ भन्ने मान्थे ।

    मलाई राजकाज मुद्दा लगाएर नौ महिना कैद गरियो । गद्दार पुष्पलालको समूहको मान्छे भनेर खेदिएको थिएँ, अहिलेका ठूलै नेताहरूसँग जेलमा थिएँ । पञ्चायतकालमा अनेक मुखुण्डा थिए, जसलाई ठूला क्रान्तिकारी भनिन्थ्यो । कैद गरिएपछि जागिर पाइँदैनथ्यो । ‘सफाइ पनि दिन्नँ, जागिर पनि खान्नँ’ भनेर हिँडें । मसँगै त्यही केसमा परेका मानिसको वासचाहिँ अञ्चलाधीशकहाँ हुँदो रहेछ, उनीहरूका श्रीमती आएर अञ्चलाधीशकहाँ बस्थे, उनीहरूका लागि अञ्चलाधीश कार्यालयबाट खाना आउँथ्यो । उनीहरू ठूला क्रान्तिकारी पल्टँदै अञ्चलाधीश कार्यालयमा बसेर सफाइ पाउँथे । मैले भने पर्चा नै नछरेको भए पनि नगरेको बिजाइँमा राजकाज मुद्दा लगाएर कैद गरे ।

    त्यति मात्र होइन, २०३२ सालमा दुई लाख रूपैयाँ भ्रष्टाचार गरेको भनेर मुद्दा हालियो । मलाई त वीरगञ्जको होटलबाटै पक्राउ गरेर जेल हालिसकेका थिए । घरमा चिठी गएछ, म जेलमा थिएँ । मैले तिर्नुपर्यो भने त मेरो ५/७ बिघा जग्गा न जाने भयो, त्यसबेला जग्गाको भाउ दुई-चार हजार रूपैयाँ कट्ठा थियो । घरमा कोलाहल मच्चियो । ठूलो दाजु घरमा आएको चिठी बोकेर वीरगञ्जस्थित अञ्चलाधीश कार्यालयमा जानुभएछ । नन्दबहादुर मल्ल अञ्चलाधीश थिए । हामीले ल्याएर थुनेका मानिसले यो काम कसरी गर्यो भनेर प्रश्न उठाए । त्यसबेला यो इमानदारीपन भने कायम थियो, त्यत्तिको नैतिकता अहिले देखाउँदैनन् । मल्लकै पहलमा क्षेत्रप्रताप अधिकारी इलाम गएर खोजबिन गरे । त्यसबेला इलाममा मैले जसलाई सहायकका रूपमा राखेको थिएँ, उसैले सबै किताब बेच्दै खाँदै गरेछ । त्यसलाई समातेर थुने, उसलाई ठाउँठाउँमा सरूवा गरेर पैसा असुलउपर गरे । त्यसपछि उसले साझा प्रकाशनको जागिर छाडिदियो । पछि गोरखापत्र संस्थानमा जागिर खाएर त्यहाँबाट अवकाश पायो ।

    विद्यार्थी आन्दोलनको सिलसिलामा नख्खु जेलमा पनि एकपटक बसेको छु । यसरी दुई-तीनपटक जेल बसें । १२/१५ दिनजति सेन्ट्रल जेल पनि बसेको छु । तर, यी सबै काराबास पत्रकारिताका कारणले होइन, राजनीतिका कारणले बस्नुपरेको हो ।

    पत्रकारिताको अनुभव

    मैले पत्रकारितासम्बन्धी शिक्षा आर्जन गरेको होइन । मैले पढेका मुख्य विषय नेपाली, इतिहास र राजनीतिशास्त्र हुन्, पत्रकारिता त मूलतः अनुभवका आधारमा गरेको हुँ । म मेरो गुरूका रूपमा ईश्वर वल्लभलाई मान्दछु किनभने उहाँले गर्दा नै मेरो कलम चल्न थालेको हो । उहाँसँग मेरो धेरै संगत भयो ।

    अहिलेको रंगशाला भएको ठाउँमा गोकर्णदेव पाण्डेको प्रेस थियो । त्यहाँ उहाँको प्रतिध्वनि भन्ने पत्रिका छापिन्थ्यो । पत्रिकामा ईश्वर वल्लभ र एकेन्द्र अर्याल थिए । किशोर नेपाल पनि त्यहाँ रिपोर्टिङ गर्थे, उनलाई मैले त्यहीं भेटेको हुँ । त्यो प्रेसमा म शुद्धाशुद्धि हेर्थे । लेटर प्रेसको जमाना भएकाले हात । कालै हुन्थ्यो ।

    ईश्वर वल्लभले ‘ल रेशमको लेखाइ राम्रो छ, लेख्ने पनि गर्छौं ?’ भनेर सोध्नुभयो । मैले लेख्छु भनें र डराईडराई एउटा कविता दिएँ । ‘गजब राम्रो कविता छ, कविताचाहिँ मोहन कोइरालाबाट प्रभावित रहेछ’ भने । त्यो कविता प्रतिध्वनिमा तुरून्तै छापियो । पछि बालमुकुन्ददेव पाण्डेको जनमतमा पनि जोडिएँ । त्यहाँ कहिलेकाहीं आलेख दिन्थें । यिनै अनुभव र अग्रजहरूको मार्गनिर्देशन पछ्याउँदै पत्रकारिता गरेको हुँ ।

    पत्रकारिताका क्रममा कति मिडियासँग जोडिएँ भनेर त गन्नैपर्छ । शुरूमा मातृभूमि (काठमाडौँ) पछि आफ्नै पत्रिका मुलुकी आवाज (चितवन) निकालेँ । हिमाली हुलाक (बाग बजार) मा पनि संलग्न भएँ । आफैँले काठमाडौँमा अर्को दर्ता गरेको थिएँ, समानान्तार दैनिक । नरेन्द्रविलाश पाण्डेको प्रेसमा छाप्ने गरेको थिएँ तर धेरै चलाउन सकिनँ ।

    अर्को पत्रिकामा हालका प्रदेश सांसद रघुनाथ महर्जन (लगनखेल) र मेरा मित्र जो नमूना मच्छिन्द्र क्याम्पसमा पढाउनुहुन्थ्यो, दुईजना मिलेर पत्रिका निकालौं भन्नुभयो । म त्यसबेला सोह्रखुट्टेमा बस्थें । हामीले पत्रिका दर्ता गरिसकेका छौं, ‘तँ दक्ष छस्, हामी जान्दैनौं, पत्रिका चलाउनुपर्यो’ भने । नाम अभिनन्दन भने । ‘तिमीहरूले मलाई पैसा दिन सक्छौ ?’ भनेर सोधें । त्यसबेला म कामना प्रकाशनमा आवद्ध भएर कपिल काफ्ले र पुष्करलाल श्रेष्ठसँग काम गरिरहेको थिएँ । कामनाले मलाई मासिक ३ हजार ५ सय रूपैयाँ दिने गरेको थियो । नयाँ । मित्रहरूले मलाई महिनाको ५ हजार दिन्छु भने । मैले भने ‘कामना त ठूलो पब्लिकेसन होला जस्तो छ, त्यसकारण यहाँ भविष्य देखिरहेको छु, तिमीहरूको के हुन्छ र ?’ भनें । त्यसो होइन, ‘तेरो डेरालगायत सबै व्यवस्था हामी गरिदिन्छौं, हामीसँग हिँड्’ भन्दै दुईजना मिलेर थसिखेलमा उनीहरूले बन्दोबस्त गरेका कोठामा लगे । त्यसपछि अभिनन्दन निकाल्न थालियो ।

    त्यसपछि नेपालगञ्ज गएँ र आफ्नै पत्रिका समानान्तर चलाउन थालें तर त्यसलाई धान्न सकिनँ । मैले कहिल्यै पनि विज्ञापन माग्ने काम गरिनँ । आफूकहाँ काम गरिरहेका साथीभाइले कहींबाट ल्याउँछन् भने त्यसलाई छाप्ने काम मात्र गरें । जसले ल्याउँथे, उनैले खाइदिन्थे । धेरैजनाबाट धोका पाएँ । कागज र प्रेसको पैसा खापिँदै जान्थ्यो । यस मामिलामा एउटा चाखलाग्दो घटना छ । नेपालगञ्जमा रहँदा कोहलपुर नगर विकास समितिले सबै पत्रकारलाई मिलाएर विज्ञापन दिने नीति बनायो । त्यहाँको पत्रकार महासंघले एउटा निर्णय ग-यो- एक पृष्ठको ७ हजार रूपैयाँ लिने ।

    मेरो पालो आयो– विज्ञापन पाउने । मेरो पालोमा दुई पृष्ठ पाउने भएँ अर्थात् १४ हजार पाउने भएँ । दिलीप भन्ने एकजना कर्मचारी थिए, उनैलाई नगर विकास समितिमा पैसा लिन पठाएँ । उनले पैसा लिएछन्, त्यसपछि मकहाँ आउँदै आएनन्, कता हिँडे थाहा भएन । प्रेसमा निकै उधारो थियो, कागजको पैसा तिर्न बाँकी थियो । म यति यहाँ तिर्छु, त्यति त्यहाँ तिर्छु भन्दै औंला भाँचेर टालटुल हुने आशामा बसिरहें, पैसाचाहिँ अर्कैले लिएर टाप ठोक्यो । त्यो घटना मैले एक दिन पूर्णलाल चुकेलाई सुनाएँ । उनले भने, “बल्ल घँटामा घाम लाग्यो ? हामी त रेशम बिरहीले त्यस्तो मानिसलाई किन राखेको होला भनेर विचार गरिरहेका थियौं ।” ल न एउटा समाचार छापिदिनुहोस् भनें ।

    उनले त्यो मान्छेको फोटोसहित रेशम बिरहीद्वारा प्रकाशित पत्रिकालाई यसरी ठगी गरेर हिँड्यो भनेर समाचार प्रकाशन गरिदिए । जनार्दन आचार्यलाई पनि सुनाएँ । उनले आफ्नो पत्रिका समकालीनमा पनि त्यो समाचार छापिदिए । त्यो मानिस गायब भएपछि म निकै अप्ठ्यारोमा परें । मैले पैत्रिक सम्पत्तिको रूपमा रहेको बर्दियाको जग्गा बेचेर त्यहाँ लागेको ऋण तिरें । बचेको पैसा कति समयदेखि तिर्न बाँकी छोराछोरीको स्कुल फी, निकै अघिदेखि नतिरेको डेराभाडा तिरेर सकेँ । त्यसपछि पत्रिका बन्द गरिदिएँ ।

    यसपछि मलाई हेमन्त कर्माचार्यले कालपृष्ठमा काम गर्न बोलाए । त्यहाँ मैले करिब डेढ वर्ष काम गरें र चितवन फर्किएँ । चितवनका साथीहरूसँग मिलेर करिब एक वर्ष भरतपुर म्यागजिन निकाल्यौं । नेपालगञ्जमा प्रशिक्षक भएर बसेको नाताले देशभरि चिनजान थियो । विशेषगरी पश्चिमतिर धेरै मित्रहरूसँग परिचय थियो । काठमाडौँमा क्रियाशील रामेश्वर बोहोरा, रोशन पुरीलगायत थुप्रै पत्रकार एनपीआई नेपालगञ्जका उत्पादन हुन् । त्यही चिनजानका कारण देशभरिका पत्रकारलाई फोन गरेपछि सबैले समाचार, आलेख पठाइदिन्थे । दक्ष पत्रकारले लेखेको कभर स्टोरी प्रकाशन हुन्थे । राम्रै चर्चा पाएको थियो । वीरेन्द्र क्याम्पसका दुईजना अवकाशप्राप्त साथीहरूले तेरो अनुभव खेर जान दिनु हुन्न, पत्रिका चलाऔं भनेकाले शुरू गरिएको थियो । ‘म पैसाको कारोबार पनि गर्दिनँ, मैले अहिलेसम्म कहीं गएर हात थाप्दै विज्ञापन लेऊ, पैसा लेऊ भनेर मागेको छैन’ भनें । यो पनि भनें, “कसैसँग आर्थिक सहायता लिएको छैन, कसैको हुन्डी खाएको छैन । विज्ञापन उठाउन पनि जान्न । त्यो सबै तिमीहरूले जिम्मा लिनुपर्छ । म समाचार र आलेख कहाँबाट ल्याउने, के राख्ने त्यो मात्र जिम्मा लिन्छु ।”

    पत्रकारिताबाट प्राप्त उपलब्धि

    पत्रकारितामा लागेर मलाई ज्ञान, सम्मान र सद्भाव पाएको छु । देश र पत्रकारिता क्षेत्रका असल र खराब पक्षबारे थाहा पाएँ । कतिपय पत्रकार र राजनीतिक नेताको आवरण थाहा पाएँ । यसरी प्राप्त ज्ञान र पृष्ठभूमि अहिले मेरो साहित्य लेखनको विषय भएको छ । यसलाई प्रयोग गर्न पाइरहेको छु ।

    उपन्यास र निबन्ध तयार गरिरहेको छु । देशभरिबाट साथीहरूले मेरा पुस्तक पैसा तिरेर मागिरहेका हुन्छन् । किताबबाट रोयल्टी पाइरहेको छु । तिनले मलाई भरथेग गरिरहेका छन् । केही समयअघि प्रकाशित उपन्यास ‘कली’ का लागि अग्रिम ५० हजार भुक्तानी पाएको छु । आफ्नो भाषा कसरी परिष्कृत गर्ने ?वाक्य बनोटदेखि शब्द विन्याससम्मका शैली विकास गर्नसमेत पत्रकारिताले मद्दत पुयाएको छ ।

    सामाजिक रूपमा राम्रै मान्छन् । मूलतः चितवन र नेपालगञ्जमा बढी सम्मान पाइरहेको छु जस्तो लाग्छ । चरित्रमा शंका गर्नुपर्ने गरी केही गरेको छैन । कुनै गलत काम गरेको दाग छैन । यो नै आफैँमा एउटा सम्मान हो । आधिकारिक रूपले त्यस्तो मान-सम्मान प्रमाणपत्र खासै दिइएको छैन । जिल्लाका संघसंस्थाले सम्मान गरेका छन् । नेपाल पत्रकार महासंघ चितवनले अनन्त गंगा पत्रकारिता पुरस्कार दिएको छ । यो ५० हजार रूपैयाँ र सम्मानपत्र भएको पुरस्कार हो । नेपालगञ्जमा पनि २/३ वटा सम्मान पाएको छु । यसबाहेक अरू सम्झना छैन ।

    सबैको सदभाव पाएको छु, त्यो नै ठूलो उपलब्धि हो । क्यान्सरबाट पीडित भएका बेलामा करिब १८/२० लाख रूपैयाँ खर्च भयो । त्यसबेला स्वतःस्फूर्त रूपमा साथीहरूले नेपालगञ्जबाट मात्रै पाँच लाख रूपैयाँ पठाइदिए । यद्यपि मैले कसैलाई पठाइदेऊ भनेको थिइनँ । त्यहाँका मेयरले ५० हजार पठाइदिए । मन्त्री इस्तियाक राईले ५० हजार पठाइदिए । पत्रकार महासंघले दुई अढाइ लाख रूपैयाँ पठाइदियो । चितवनका साथीहरूले पनि केही सहयोग गरे ।

    पत्रकार नबनेको भए

    पत्रकार नबनेको भए शिक्षक हुन्थें होला । शायद नेपाली पढाउँथें होला । तर, मैले राजनीति भने गर्दिनथें किनभने नेपालका कम्युनिस्टहरूको हालत पहिल्यैदेखि नै दयालाग्दो थियो । त्यतिबेला पुष्पलालजस्तो मानिस जसले गणतन्त्र भनेर बोलिरह्यो, जसले प्रजातान्त्रिक एकता भनेर बीपीलाई घचघच्याइरह्यो, उसैलाई गद्दार भने ।

    त्यही बेला बीपी कोइरालाले एउटा वाक्य बोल्नुभएको छ, ‘कम्युनिस्टहरू कहिल्यै प्रजातन्त्रवादी हुन सक्दैनन्, तिमीहरूसँग किन मिल्ने ?’ यो धेरै हदसम्म मिल्छ । म वनारसमा पुष्पलालको हेडक्वार्टरमा पनि ५/६ महिना पनि बसेको छु । वीरगञ्ज कलेज अफ एजुकेसन पढिरहेका बेला वारेन्टेड भएँ । त्यसबेला नौलो जनवाद भन्ने बुलेटिन लुगाभित्र बाँधेर ल्याएर कलेजमा बाँड्थें । प्रशासनले थाहा पाएछ, वारेन्ट जारी भयो । यसपछि म त्यहाँबाट भागें । दार्चुलाका प्रेमसिंह धामीले मलाई साइकलमा राखेर भगाए । उनले रक्सौल पुऱ्याएर रेल चढाइदिए । वनारसबाट पुष्पलालले ‘तिमी तुरून्त यहाँ आएर पार्टीको हेडक्वार्टरमा बस र बुलेटिनहरूको काम गर’ भन्नुभयो । त्यो बेला पुष्पलालको वेदना र दुःख मैले थाहा पाएको छु ।

    त्यसबेला पुष्पलाललाई गद्दार भन्नेहरू जति सबैले कम्युनिस्ट पार्टीको ढोकामा अहिले पुष्पलालको फोटो झुन्ड्याएका छन् । अहिलेका यी कम्युनिस्टमा यो चेतना त्यही बेला आइदिएको भए न पुष्पलाल अल्पायुमा मर्थे होलान्, न त नेपालमा गणतन्त्र आउन यत्रो समय लाग्थ्यो, न म पत्रकार नै हुन्थें ।

    पत्रकारितामा गुनासो

    नेपाल पत्रकार महासंघप्रति मेरो ठूलो गुनासो छ । यो त एनजिओ फेडरेसन जस्तो भयो, पत्रकार महासंघ जस्तो भएन । यसले बाँड्ने हरेक खालका पुरस्कार, सम्मानमा पुनर्विचार गर्नुपर्ने देख्छु । एउटा हार्ड न्युज लेख्न नसक्नेलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान, वरिष्ठ पत्रकार पुरस्कार दिइएको छ । अगाडि राखेर एउटा फिचर लेख्न लगाउनुस्, तिनले सक्ने छैनन् । आफ्ना आस्था बोकेका र बकम्फुसे कुरा गरेका भरमा र केही मिडियामा पहुँच पुयाएका भरमा पुरस्कार दिइएको छ । काँटछाँट गरेर अर्काले समाचार बनाइदिएका भरमा ठूलो पत्रकार भनाइएर, ठूला भनिएका मानिसको धोतीको फेर समाएर हिँडेकालाई पत्रकार महासंघले सम्मान गर्दै हिँडेको छ । जिन्दगीभरि पत्रकारिता गरेर जीवन गुजार्ने पत्रकार यिनीहरूका आँखामा पर्न सकेको देखिँदैन ।

    अचेल सदस्यता नवीकरण गर्न छाडेपछि चितवन शाखाले मेरो सदस्यता आफैँ नवीकरण गरिदिन थालेको छ । पैसा चाहिँदैन ? भनेर सोध्दा ‘भयो’ भन्छन् । अहिले स्वेच्छिक तवरले महासंघ त्याग भन्ने अभियान चलाइएको छ रे ! सम्भवतः हामी जस्तालाई हटाउन ल्याइएको अभियान हुनुपर्छ यो । यी र यस्तै कारण र प्रवृत्तिले पत्रकार महासंघप्रति मेरो चित्त दुखाइ छ ।

    (श्रोत: उहिलेको पत्रकारिता पृष्ठ १३१-१४२, दोस्रो संस्करण२०८०)

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology