राज्यसत्ता

  • साझा डबली
  • बिहिबार, माघ ४, २०८०
  •  

    खेतारा

    (पालैपालो धराराको चिसो पानी खाँदै)

    कस्ता लुच्चा हरे द्यौता ! त्यस्ता जालहरू रची,

    त्यति राम्रो व्यवस्था पो तोडे बाँदर-तालले,

    परिश्रमी असुरको फेरि पारे विजोग है।

    अनि आदित्यमा के भो ? दुःखी दैत्य कता गए,

    धूर्त राजा दशरथ के-के जाल रची फिरे ?

     

    मास्टर

    आदित्यहरूमा फेरि वर्गभेद बढ्यो उही

    फाटे श्रमिक औ स्वामी तेल-पानी समान भै ।

     

    ती नारी युद्धका देवी सबला रण-चण्डिका

    शास्त्रास्त्र खोसिनासाथै स्वास्नी र अवला भए ।

    भोका फेरि भए भोकै, नाङ्गा नाङ्गै हुँदैगए

    सपना श्रमजीवीका चकनाचूर भै टुटे ।

     

    जो थिए फूटका गोप्यसूत्र फेरि निकालिए,

    पातालमा पचाएका वेद फेरि उकासिए ।

     

    टाउकेहरूले बाँडे सम्पूर्ण लूटको धन

    निमुखाजति हेरेकोहेयै जिल्ल परिरहे ।

    सारा षड्यन्त्रको निम्ति स्वर्ण-लक्ष्मी अगाध र

    लिएर मणिको रास, क्षीर सागरको तट

    आफ्नो साम्राज्यमा गाभे एक्लै नै विष्णुदेवले ।

     

    हजार दासको साथ सुनखानी समेतको

    ब्रह्माको निम्ति दिइयो भूभाग सत्य लोकको ।

     

    सहयोगी भारतका सारा मालिक वर्गले

    स्वर्णराशि, हीरा-मोती, सैकडौं सुन्दरीहरू

    हजारौं अरबी घोडा, हात्ती पाए असंख्यका ।

     

    क्रान्ति खोज्ने पापीलाई यमलोक पठाउने

    साथै दक्षिणका शत्रु लखेट्ने सहयोग र

    गर्मीका दिनमा आई स्वर्ग-वैकुण्ठमा घुमी

    सम्मानको मजा लुट्ने उत्तरी हिमदेशका,

    सैर मार्ने अप्सराका गोरा जङ्गलमा पसी-

    अधिकार साथ पाए निवास ग्रीष्म-कालका !

     

    मिलापत्र गराएको सम्झेर शिवको गुन

    संपूर्ण हिमवत्खण्ड उनलाई चढाइयो ।

     

    झन् आफ्नै देशका मुख्य नेता के बाँकी राख्दथे ?

    साम्राज्य इन्द्रले हड्पे नलिनी १६१ सिंन्धुबीचको ।

     

    अब दैत्यहरू फेरि नपाउन् भनी फर्कन

    यम दिक्पाल खटिए मृत्युसागरतीरमा ।

    रहेन इन्द्रको दर्जा अब खालि ‘प्रजापति’

    मानिए देवका देव सम्राट् नृपति भूपति ।

    दास, स्वामी दुवैबाट अझैमाथि उठे उनी

    आफ्नै हुकुमले मात्र राज्य हाँक्ने भए उनी ।

    सम्पूर्ण राज्यमा उन्को निजी स्वामित्व भैगयो

    भूमि तिरो तिरी मात्र अरुले पाउने भए ।

     

    इन्द्र

    (केही टाउकेहरू लिई एकान्तमा गएर दशरथसित)

    राजन् ! तपाईंलाई त थाहा छन् राज्यका कुरा

    सिकाउनोस् हामीलाई राज-काज चलाउन ।

    यत्रा सारा प्रजालाई बशमा पार्नु के गरी ?

     

    धनी गरीब बीचमा के ले मन बुझाउनु ?

    यो आफ्नै गणका भित्र द्वेष-संघर्ष चर्किए

    फसाद पर्छ साह्रै नै के गरेर मिलाउनु ?

    दास, नारीहरूलाई के गरेर दबाउनु ?

     

    दशरथ

    अरे, त्यो के छ गाह्रो र ? तरीका सिकिहाल्नुहोस्,

    मिलेर गणले पैले दास बर्ग दबाउनोस्,

     

    फेरि पुरूष भै एक नारीलाई गिराउनोस्

    निजी धन, निजी स्वास्नी भन्नेमा जोड लाउनोस् ।

     

    यसरी पितृसत्ताको बलियो जग पार्नुहोस्,

    यतिसम्म त पैलेका थाहै छन् तरिकाहरू ।

     

    खुल्नेछ पछि त्यो बाटो आफै-आफ मजासित ।

    निजी सम्पत्तिले उठ्छ निजी सन्तानको कुरा

    बाबुको धन-सम्पत्ति छोराले मात्र पाउने

    छोराको अनि नातिले, नातिबाट पनातिले

    यसरी बलियो हुन्छ प्रश्न बंशाधिकारको ।

     

    त्यसको फाइदा हेर्नोस् दासको पुत्र दास नै

    स्वामीको पुत्र स्वामी नै, त्यसैको क्रममा परी

    राजाको पुत्र राजा नै हुन्छ आफै मजासित,

    प्रथा समाप्त भैहान्छ गण नेता- चुनावको ।

     

    देवता

    सबै सन्तान उस्तै नै हुँदैनन् योग्य क्यै गरी

    राजाको पुत्र नै राजा कसरी हुनसक्छ र ?

    चुनावबाट पो राजा गतिलो मिल्न सक्तछ ।

    चानेचुने कुरा हैन राज-काज चलाउनु

    बुझेनौं यो कुरा हामी अलि प्रष्ट बताउनोस् !

     

    दशरथ

    (आँखिभौं तन्काउँदै)

     

    हतपत्त कुरा काट्छौ लाटा हो ! नबुझी त्यसै,

    बर्गीय राज्य नै के हो नाइटाको कुरा बुझ ।

    योग्य शासक के अर्थ दास-मालिक तन्त्रमा

    हुन्छ ? त्यस्तो भए मेट्न गणतन्त्रै पर्यो किन ?

     

    माथिल्ला बर्गले लुट्ने तल्ला बर्ग दबाउने,

    जुन हो शक्ति स्वामीको ‘राज्यसत्ता’ भनिन्छ त्यो ।

     

    राजाको छत्र-छायामा थुप्रो मालिक बर्गले

    ठूलो शोषणको मूल हातमा पाउनेहुँदा

    राजाभन्दा मान्यतामा आफू तल परे पनि,

    बर्गका स्वार्थको निम्ति राजालाई सघाउँछन्

    राजाका नाममा राज्य उनैहरू चलाउँछन् ।

     

    आत्माभिमानको निम्ति चाप्लूसी नरुचाउने

    लूटको मोज पाएमा जिभ्रो नै नरसाउने

    वेकूफ कति हुन्छन् र हामी मालिक बर्गमा ?

    कोही निस्के झार्नुपर्छ त्यस्लाई दास बर्गमा ?

     

    हतियार एक-एक सारा खोसिसकेपछि,

    अनेक जुक्ति-बुद्धिले शक्तिहीन गरेपछि,

    नारी, दास, प्रजामाथि राज-काज चलाउनु

    कत्रो ठूलो कुरा हो र राज्यसत्ता मिलेपछि ।

     

    हुन्छन् वेद प्रजालाई छल्नको लागि नै त्यहाँ

    हुन्छन् देखाउने दाँत विधि-कानूनका त्यहाँ ।

    ऐन-कानूनले हैन डण्डे कानूनले त्यहाँ

    काबू हुन्छन् प्रजा, नारी धाक-शान रवाफले ।

     

    डण्डाले नै प्रजा हाँक्छ, डण्डाले लोक जित्दछ

    डण्डा हो धर्म राजाको, डण्डै हो राज्यरक्षक ।

     

    देवताहरू

    (दशरथसित)

    धन्य भारतीय बन्धु ! देख्यौं अद्भुत बीरता,

    स्वर्गभन्दा पनि श्रेष्ठ मान्यौं भारतको खुबी ।

    अब मैत्री भयो हाम्रो सीमाना सिन्धुको भयो

    बाँधियो बलियो गाँठो दौत्य सम्बन्धको पनि,

    हाम्रो हुँदैराख्नुपर्छ अब आवत-जावत ।

     

    तपाईंहरूको निम्ति ग्रीष्मको तीब्र गर्मीमा

    स्वर्ग आई सैर मार्ने चाँजो पाँजो मिलाउँछौं,

    अरू जे-जे भन्नुहुन्छ मनोरथ पुऱ्याउँछौं

     

    तर भारतका सुन्दा लोभ लाग्दा कुराहरू

    मुखमा ऱ्याल टप्कन्छ, मन यो ललचाउँछ

    साह्रै राम्रो कर्मभूमि कल्पवृक्ष रहेछ त्यो,

    आज्ञाकारी प्रजावर्ग गोरु जस्तै अचम्मका

    भने जति यज्ञभाग कर शुल्क उठाउने ।

     

    त्यो ठाउँमा गुठी-बिर्ता दिने केही दया भए

    जाडाभरि उहीं बस्थ्यौं मोज-मज्जा उडाउँथ्यौं

    गर्मीका दिनमा चढ्थ्यौं स्वर्गतर्फ सँगै सँगै ।

     

    दशरथ

    के भर्नुहुन्छ त्यो गर्मी, औलो लाग्ने प्रदेशमा ?

    रोग, अल्पायुले गर्दा मर्त्यलोक भनिन्छ त्यो !

     

    देवताहरू

    दास जस्ता प्रजामाथि हुकुम् लादन पाउनु

    त्यस्तो त्रिपाटो चौपाटये उब्जा हड्पन पाउनु

    साराका टाउका आफ्ना खुट्टामा रगडाउनु

    निरंकुश बनी त्यस्तो ऐयास भोग्न पाउनु,

    अरू ठाउँ बाँच्नुभन्दा करोडौं वर्ष आयु ली

    बरु थोरै वर्ष बाँची भारतै बस्नु बेश छ

    गर्दिनैपर्छ हे बन्धु ! हाम्रोनिम्ति अवश्य क्यै ।

     

    दशरथ

    भर्नुहोस् न छ के धन्दा, व्यवस्था गरिहाल्दछु

    तपाईंहरूका निम्ति यज्ञभाग बढाउँछु

    बनाइदिन्छु निस्फिक्री शानका मठ-मन्दिर

    सारा प्रबन्धको निम्ति म ब्राह्मण खटाउँछु ।

    विलास-भोगको निम्ति विबाहै नगरीकन

    देवकन्या भनी छुट्टै छुट्याइदिन्छु सुन्दरी ।

     

    हेर्नोस् विशाल बाँकी छ जित्न दक्षिण भारत

    असंख्य लुट्न बाँकी छन्, अनार्यहरूका गण

    समुद्रपारिको लङ्का सुनकै देश तुल्य छ ।

     

    अगस्त्यजी गएका छन् त्यता चाँजो मिलाउन

    हुँदैछ युद्ध-तैयारी अयोध्यामा मजासित

    सकौं त ती सबै जित्न मैले के के पुयाउँछु !

     

    गुठी, देवस्व बिर्ता र जमिन्दारी दिलाउँछु

    बलका कामको निम्ति दास शूद्र खटाउँछु ।

    म भएसम्म के पीर, पाल्नुहोस् मोज गर्नुहोस् ?

    आफ्नो इज्जेतको साथै हाम्रो शान बढाउनोस् ।

    ती हाम्रा रैतिकासाथ झुप्पा गाँसी अनेकका

    रहस्यहरूले पूर्ण स्वर्गका गफ लाउनोस् ।

     

    “राजा, ठूला-बडा मान्छे

    विश्वकै हाल जान्दछन्,

    हामी बेकूफ हौं” भन्ने प्रजाका मनमा परोस् ।

    हेर्नुहोला भारतमा त्यो पनि दिन आउला

    देवताहरूको सारा प्रजाले जय गाउला ।

    ( इतिहासमूलक महाकाव्य : देवासुर संग्राम)

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology