दलाल पुँजीवादले २१औं सताब्दीका नयाँ पुस्तालाई विदेशी बजारका दास बनायो 

  • साझा डबली
  • बिहिबार, फाल्गुन १०, २०८०
  •  

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले नेपालमा रहेको दलाल पुँजीवादी संसदीय व्यवस्थाले २१ औं शताब्दीका नयाँ पुस्तालाई विदेशी बजारका दास बनाएको वताएका छन् । बिहीबार नेकपा नागार्जुन नगर समितिद्वारा सितापाईलामा आयोजित “वर्तमान राष्ट्रिय संकट र यसको समाधान” विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले यस्ताे बताएका हुन् ।

     

    उनले देशमा विद्यमान सम्पूर्ण संकटको मुख्य कारण दलाल पुँजीवादी संसदीय व्यवस्था भएको ठोकुवा गरेका छन्। “बहुदल पछिको कांग्रेस नेतृत्वको सरकारले उदारवादी अर्थतन्त्र र निजीकरण लाई स्वीकार गर्ने नीति पास गरेकोले देशमा भएका सम्पूर्ण उद्योग कलकारखाना बन्द भए देशको अर्थतन्त्र तहसनहस भयो देशमा भविष्य नदेखेपछि नयाँ पुस्ताका युवाहरु विदेशिन बाध्य भए।”

     

    उनले “नेपालको राष्ट्रियता गम्भिर संकटमा छ हामी यस विषयलाई कत्तिको गम्भीरता पूर्वक लिएका छौं? MCC लागु भए पछि आउने संकटलाई हामी थेग्न सक्छौ? भोलि यो मुलुकमा अमेरिका र चाइनाको बीचमा युद्ध हुँदा नेपाललाई के फाइदा हुन्छ?” भन्दै प्रश्न गरे। “युक्रेनी जनताले त्यतिबेला सही नेतृत्व र सही व्यवस्था चुनेको भए अहिलेको जस्तो नियति भोग्नु पर्ने थिएन । हामीलाई हाम्रो कुना कन्दरामा के छ भन्ने थाहा छैन तर एनजीओ आइ एन जी ओ प्रयोग गरेर सबै डाटा साम्राज्यवादीले राखिसक्यो। के यो साना कम्युनिस्ट पार्टीको मात्रै एजेण्डा हो अरु पार्टीहरुले बोल्नु पर्दैन ?”

     

     

    “राष्ट्रियताको संकट जनजीविकाको संकट यो व्यवस्थाको संकट हो। यो व्यवस्था जनताको आधारभूत समस्यामा केन्द्रित भएन,जनतामा परिवर्तनको अनुभूति भएन ।हामी राजनीतिक दलहरू जनता भन्दा एक कदम अगाडि हुन्छौ। देशमा पछि आउने संकटबाट देश र जनतालाई बचाउन उपयुक्त भूमिका खेल्नु पर्छ।”

     

    “यो व्यवस्था दलाल पुँजीपति वर्गको पञ्जामा छ। यो राज्यले मीनबहादुर गुरुङलाई सजाय दिँदै गर्दा अरुण चौधरीलाई किन दिन सकेन ।हामीले ८२ हजार ऋण बोकी रहँदा विनोद चौधरी श्रीलंकामा बैंक किन्छन् । यो सत्ताका सबै अंग दलाल पुँजीपति र साम्राज्यवादको नियंत्रणमा छन्। युवा विद्यार्थीहरूको पलायन व्यापक बढिरहेको छ।सरकारी विद्यालयमा समेत कन्सल्टेन्सीका मालिकहरू गएर बिध्यार्थीलाई बाहिर जान प्रशिक्षण गरिरहेका छन्।”

     

    देशमा जतिपनि संकटहरु छन् यसको मुख्य कारण दलाल पुँजीपति संसदीय व्यवस्था हो यसको अन्त्य गरी नेपाली विशेषताको समाजवाद स्थापना गर्नु पर्छ। त्यसका लागि सम्पूर्ण माओवादी, कम्यूनिष्ट शक्ति, देश भक्त,लोकतन्त्रवादी शक्तिहरू एक भएर लड्नु पर्ने उनको भनाई थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology