भारतमा नेपालको लगातार तेस्रो जित, गुजरातलाई आठ रनले हरायो

  • साझा डबली
  • बुधबार, चैत्र २१, २०८०
  •  

    काठमाडौँ । ‘एसएमएस फ्रेन्ड्सिप कप’ त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खला खेल्न हाल भारत भ्रमणमा रहेको नेपाली टोलीले बुधबार खेलिएको खेलमा गुजरातलाई आठ रनले हराएको छ । जारी शृङ्खलामा नेपालले हासिल गरेको यो लगातार तेस्रो जित हो ।

     

     

    यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई हराएको थियो । दोस्रो खेलमा नेपालले बरोडालाई पराजित गरेको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

     

     

    जवाफी ब्याटिङमा ओर्लिएको गुजरातले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७३ रनमात्र बनाउन सक्यो । गुजरातलाई लक्ष्यसम्म पुग्न नदिन नेपाली बलर सोमपाल कामी र कुशल मल्लले दुई-दुई विकेट लिए ।

     

     

    गुलसन झा र विवेक यादवले पनि एक-एक विकेट हात पारे । गुजरातका लागि उमंग तन्डेलले सर्वाधिक ४७ रन बनाए । हर्ष देसाईले पनि २९ रनको योगदान गरे ।

     

    त्यसअघि नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि उत्कृष्ट साझेदारी गरेका थिए । नेपालका दुवै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । यी दुवैले ओपनिङ विकेटका लागि एक सय २५ रनको साझेदारी गरेका थिए ।

     

    कुशल भुर्तेल ४४ बलमा ६७ रन बनाउँदै आउट भए । उनले दुई छक्का र नौवटा चौका पनि प्रहार गरे । उनी १३.३ ओभरमा नेपालको पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए । अर्का ओपनर आसिफ शेखले पनि टोलीका लागि ८५ रनको योगदान गरे ।

     

    पेभेलियन फर्किनुअघि आसिफले ५१ बलको सामना गरी पाँच छक्का र १० चौका हिर्काएका थिए । उनी १८औँ ओभरको पहिलो बलमा आउट भएका थिए । कप्तान रोहित पौडेल भने तीन रनमै आउट भए । उनी १६औँ ओभरको अन्तिम बलमा बाउन्ड्री प्रहार गर्ने धुनमा क्याच आउट भएका थिए ।

     

    कुशल मल्ल एक रन बनाउँदै पेभेलियन फर्किए । सन्दीप जोरा दुई रनको व्यक्तिगत स्कोरमा आउट भए । गुलसन झाले चार रन बटुले । अनिल साह खाता खोल्नुअघि नै पेभेलियन फर्किए । विवेक यादवले अविजित सात र प्रतिस जिसीले अविजित चार रन बनाए ।

     

    नेपालले अतिरिक्त रुपमा आठ रन पाएको थियो । गुजरातका बलर जयमित पटेलले तीन विकेट लिए । आर्या देसाई र ध्रुशान्त सोनीले पनि दुई-दुई विकेट हात पारे ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology