जनपत्रकार संगठन नेपालले गर्यो वार्षिक भित्तेपात्रो सार्वजनिक

  • साझा डबली
  • सोमवार, चैत्र २६, २०८०
  • काठमाडौं । जनपत्रकार संगठन नेपालले विक्रम् सम्वत् २०८१ सालको बार्षिक भित्तेपात्रो सार्वजनिक गरेको छ । संगठनले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा विमोचन कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरिएको हो।

    ६ पाना रहेको पात्रोमा जनयुद्धका क्रममा घटेका महत्वपूर्ण घटनाहरु, एकीकृत जनक्रान्तिले प्रतिपादन गरेको सी संस्कृति दिवस लगायतलाई समेटिएको छ । नयाँ बर्षको अवसरमा जनपत्रकार संगठनले मित्र संगठनका प्रतिनिधिलाई बोलाएर शुभकामना आदानप्रदान पनि गरेका थियो । सो क्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष तथा उपत्यका व्युरो इन्चार्ज जीवन भण्डारी, नेकपा पत्रकार महासंघ उपत्यका प्रदेशका महासचिव टेनिस रोका, प्रेस सेन्टरका प्रदेश उपाध्यक्ष सागर पन्त, समाजवादी प्रेसका उपत्यका अध्यक्ष आशिष गुरागाई, पत्रकार केशव राज अर्याल, स्वतन्त पत्रकार गंगा बरालले श्रमजीवि जनताको पक्षमा चलेको जनपत्रकारको कलमले निरन्तरता पावस भन्दै शुभकामना दिएका थिए ।

    साथै, नेकपा केन्द्रीय सदस्य भृकुटी सी, जनसांस्कृतिक महासंघका महासचिव कुशल बोगटी र नेकपा स्थायी समिति सदस्य अनिल सीले जनपक्षिय पत्रकारितालाई निरन्तरता दिदै आगामी दिनमा समाजवादका लागि पत्रकारिता गर्नु सुझाव दिएका थिए । जनपत्रकार संगठन नेपालका फ्याक्सन इन्चार्जसमेत रहेका अनिल सीले पत्रकारिता र पत्रकार फरक विषय भएको भन्दै स्वतन्त्र पत्रकारिताको बहस अनावश्यक भएको बताए । ‘पत्रकारिता र पत्रकार फरक हो । पत्रकारिता संधै निश्पक्ष र स्वतन्त्र हुन्छ तर पत्रकार व्यक्ति हो । उ कहिल्यौं पनि स्वतन्त्र हुन सक्दैन ।’, शुभकामना मन्तव्य राख्दै उनले भने ।

    नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला नम्बर १ की इन्चार्ज भृकुटी सीले पत्रकारिता समाज रुपमान्तरणको सम्बाहक भएको बताउँदै पत्रकारिता निश्पक्ष हुनुपर्नेमा जोड दिइन् । साथै उनले विरता दिवसको बारेमा पनि आफ्नो धारण राखेकी थिइन् । ‘आज चैत २६ गते, नेपाली महिलाले ससस्त्र दंगा प्रहरीको हतियार खोसेर इतिहास रचेको दिन हो ।’, उनले भनिन, ‘महिला आन्दोलनमा आजको दिनको विशेष महत्व छ ।’, शुभकामना मन्तव्य राख्दै उनले भनिन्, ‘हामीले बर्षमा ४ वटा दिवस मनाउँछौं । त्यसमध्ये आजको दिन एउटा हो । आजको दिनमा मालकोट, कालिकोटका महिलाहरुले विरता प्राप्त गरेर इतिहास रचेका थिए । आज हामी २६ औं विरता दिवस मनाइरहेका छौं ।’

    संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगठनकी उपाध्यक्ष जानकी चौधरीले स्वागत मन्तव्यमाफर्त उपस्थित सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य संजिव सी, संगठनका सल्लाहकार राजेन्द्र चिमौरियाको आतिथ्यता रहेको थियो । काठमाडौंको पुतलीसडकस्थित सिटीस्केफ क्याफेमा भएको कार्यक्रमको संचालन संगठनका सचिवालय सदस्य शोभराज बरालले गरेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology