नेपालको आर्थिक वृद्धि ३.६ प्रतिशत बढ्ने एडीबीको प्रक्षेपण

  • साझा डबली
  • बिहिबार, चैत्र २९, २०८०
  • काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले आज ‘एसियन डेभलपमेन्ट आउटलुक’ सार्वजनिक गर्दै २०२४ मा ३.६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो ।

    यस्तै आगामी वर्ष सन् २०२५ मा नेपालको आर्थिक वृद्धिदर ४.८ प्रतिशतको हुने प्रक्षेपण छ । यो प्रक्षेपणले नेपालको अर्थतन्त्रमा सुधार आउने देखाएको छ । गत वर्ष सन् २०२३ मा एडीबीले नेपालको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने अनुमान गरेको थियो ।

    एडीबीका अनुसार गत वर्षको तुलनामा नेपालको अर्थतन्त्रमा व्यापक सुधार आउने छ । गत वर्ष जम्मा १.९ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण रहेकामा यो वर्ष ३.६ प्रतिशतको प्रक्षेपण भएको छ । यो वर्ष नेपालले दक्षिण एसियामा भारत, बङ्गलादेश, मालदिभ्स र भुटानपछिको सबैभन्दा धेरै आर्थिक वृद्धि हासिल गर्नेछ ।

    दक्षिण एसियाली मुलुकमा भारतको अर्थतन्त्र सबैभन्दा धेरैले बढ्ने देखिएको छ । एडीबीको प्रक्षेपणअनुसार सन् २०२४ मा भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुनेछ । यो दक्षिण एसियाली मुलुकहरूको तुलनामा सबैभन्दा धेरै हो । यसपछि बङ्गलादेशको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण एडीबीको छ ।

    दक्षिण एसियाली मुलुकमा तेस्रो स्थानको वृद्धिदर हासिल गर्ने माल्दिभ्को अर्थतन्त्र ५.४ प्रतिशतले बढ्नेछ । यसपछि भुटानको अर्थतन्त्र ४.१ प्रतिशतले बढ्दा पाकिस्तान र श्रीलङ्काले समान १.९ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने प्रक्षेपण एडीबीको छ । अफगानिस्तानको भने यो वर्ष आर्थिक वृद्धिदर प्रक्षेपण भएको छैन ।

    दक्षिण एसियाली मुलुकको अर्थतन्त्र समग्रमा ६.३ प्रतिशतले बढ्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology