इलाम २ मा सुहाङलाई भोट दिन ओलीको अपिल

  • साझा डबली
  • बिहिबार, बैशाख ६, २०८१
  •  

    इलाम । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन मतदातालाई आग्रह गरेका छन्।

     

    इलाम क्षेत्र नं २ को देउमाई नगरपालिकास्थित मङ्गलबारे बजारमा बुधबार आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले सुहाङ जस्तो योग्य उम्मेदवारलाई जिताउन अपिल गरेका हुन्।

     

    यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गएको भदौ २६ गते मृत्यु भएपछि इलाम क्षेत्र नं २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। नेम्वाङको सपना पूरा गर्न पनि उनका छोरा सुहाङलाई उम्मेदवार बनाइएको ओलीको भनाइ थियो।

     

    इलाम क्षेत्र नं २ को विकास र यहाँका नागरिकको समृद्धिका लागि सुहाङ नेम्वाङ विजयी हुनुपर्ने ओलीको दाबी थियो। एमालेले घरघरमा वृद्ध भत्ता पु¥याएको, सामाजिक सुरक्षा भत्ता वितरण गरेको र सडक निर्माणलगायत धेरै काम गरेको ओलीको भनाइ थियो।

     

    अध्यक्ष ओलीले एमालेले मुलुकमा कस्तो विकास गर्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदा देखाएको दाबी गरे। ‘म प्रधानमन्त्री हुँदा दुई सय १० पालिकादेखि सदरमुकाम जोड्ने सडक र तीन सय ९६ वटा पालिकामा अस्पताल बनाउन शिलान्यास गरेको थिएँ तर सरकारबाट बाहिरिएपछि ती सबै अलपत्र परेका छन्। अब अधुरा र अलपत्र कामहरुलाई आउँदो निर्वाचनसम्ममा पूरा गर्नुपर्छ, ओलीले भने।

     

    एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खल्बल्याउने बताए।

     

    माओवादी कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउने ‘एजेन्डा’ पूरा गर्नका लागि पनि वामपन्थीहरुका साझा उम्मेदवार सुहाङलाई विजयी गराउनुपर्ने बताए।

     

    सभामा उम्मेदवार नेम्वाङले आफूले जितेको खण्डमा इलाम क्षेत्र नं २ को विकास गर्ने र नागरिकले शिर झुकाउनुपर्ने कुनै काम नगर्ने बताए।

     

    इलाम २ मा १२ राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। एमालेका सुहाङसँगै नेपाली कांग्रेसका इलाम सभापति डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचानवादीका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू (थेगिम) छन्। एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology