यौनकर्मीको अखडा बन्दै पशुपति क्षेत्र

  • साझा डबली
  • बुधबार, अशोज १, २०७६
  • काठमाडौं, असोज १। कलकत्ताकी सीताकुमारी दास (१८)ले पशुपति मन्दिरबारे थोरै मात्र सुनेकी थिइन्। जब उनका प्रेमी राजु सिंहले यहाँको बारेमा उनलाई बताए, सीतालाई पशुपति कहिले जाउँ जस्तो भयो।

    एकदिन राजुले उनलाई भागेर पशुपति जाने योजना सुनाए। पहिले यो योजना सुनेर उनलाई डर लाग्यो। पछि उनलाई लाग्यो, अर्को बाटो छैन। किनकी घरपरिवारले उनको प्रेमलाई स्वीकार गरेको थिएन। सीता मन्जुर भइन्। तीन महिनाअघि उनी राजुसँगै पशुपति आइन्। सीताको लागि काठमाडौं नौलो थियो। उनी प्रेमीसँग केही दिन काठमाडौं घुमिन्। केही दिनको बसाइ रमाइलो भयो। तर यो रमाइलो धेरै टिक्न सकेन। काठामाडौं बसाइले अचानक अकल्पनीय मोड लियो। जुन सीताले सपनामा पनि सोचेकी थिइनन्।

    एकदिन राजु सीतालाई छोडेर बेपत्ता भए। उनी एक्लै भइन। कलकत्तासम्म पुग्‍ने बाटो खर्च पनि उनीसँग भएन। म पशुपतिमा बसेर रोइरहें, मन्दिर वरिपरी घुम्थें तर राजु आएन, एकदिन बेलुकी पख म गौशाला नजिकै बसिरहेकी थिएँ। केही केटीहरु पुरुषसँग कुरा गरेपछि मोटरमा चढेको देखें, सीता भन्छिन्, अनि मलाई थाहा भो। यी केटीहरु पैसा यसरी कमाउँदा रहेछन्।

    अनि वाध्याताले सीतालाई यही बाटोमा डोहोर्‍यायो। एकदिन पशुपति नजिकै सडकमा बसिरहेका बेला उनलाई एक भारतीयले जाउँ भनेपछि उनी तयार भइन्। त्यस दिनदेखि सीता देहव्यापारमा संग्लग्‍न छिन्। म बाध्यताले यस्तो काममा लागेकी हुँ, पैसा सकिएपछि धेरै ठाउँमा गएर काम मागेँ तर काम पाइनँ, उनी थप्छिन्, यो काममा लागेपछि पैसा आयो, केही पैसा जम्मासमेत गरेकी छु।

    देहव्यापारमा संलग्‍न भएको अवस्थामा उद्धार गरिएकी सीता अहिले माइती नेपालमा छिन्। उनी नेपाली बुझ्छिन् तर राम्रोसँग बोल्न जान्दिनन्। सोमबार बेलुका माइती नेपाल र महानगरीय प्रहरी वृत गौशालाको संयुक्त टोलीले सीतासहित ६ जना यौनकर्मीलाई पशुपति क्षेत्रबाट नियन्‍त्रणमा लिएको हो।

    उनीहरूले यही क्षेत्रलाई आफ्नो यौन व्यापारको केन्द्र बनाएको तथ्य खुलेको छ। खासगरी भारतीय पर्यटकलाई लक्षित गरेर यस क्षेत्रमा यौन व्यापार गर्ने ठूलो गिरोह सक्रिय रहेको देखिएको छ। धार्मिक क्षेत्रमा यस्तो धन्दा हुन नदिन स्थानीय प्रहरी  र सामाजिक संस्थाको संयुक्त प्रयासमा निगरानी अभियान चलाइएको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 sajhadabali.com All right reserved Site By : SobizTrend Technology